गाउँघरमा मेलापात गर्न प्रयोग गरिने डोको विस्तारै लोप हुन थालेको छ।पहिले जस्तो डोको बुनेरै जिबिकोपार्जन गर्ने परिवार आजभोलि विरलै मात्रामा भेटिन्छन । त्यस्तै हुन तानसेन-८ का सोम बहादुर सुनार ,उहाँले भने डोकाे बिक्रीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ। पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ।
तानसेन नगरपालिका-८, मदनपोखराका ३५ वर्षीय सुनारले १० वर्षअघिबाट डोकाे बुनेर बिक्री गर्दै आएको बताउनुभयो। एकदिनमा ३ देखि पाँच वटासम्म डोकाे तयार गर्ने उहाँको भनाइ छ। डोकाेको बिक्रि हुने सिजनमा मासिक २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने उहाँले बताउनु भयाे।
‘दस वर्षअघिबाट डोकाे बुन्ने काम गर्दै आएको छु’, उहाँले भन्नुभयो, ‘आकार हेरेर स्थानीय बजारमा प्रतिगोटा पाच सय देखि एक हजार दुई सय रुपैयाँसम्ममा बिक्री हुन्छ।’
‘डोकाे बुन्ने कामबाट राम्रै आम्दानी हुन्छ’, सुनारले भन्नुभयो, ‘यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक सात/आठ लाख रुपैयाँ आम्दानी गर्न कठिन हुन्न । अन्य कृषि कर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक एक देखि दुइलाख रुपैयाँसम्म आम्दानी हुन्छ।’
आफूले बुनेको डोकाे जतनसँग प्रयोग गरेमा दुइ वर्षसम्म टिक्ने उहाँको भनाइ छ। निकालो, बाँसलगायतको चोयाबाट डोकाे तयार गर्न सकिने उहाँको भनाइ छ।
त्यस्तै मदनपोखराका रुम बहादुर नेपालीले पनि कृषि पेशासङ्गै चोयाबाट डोको तयार गरेर बिक्रि गर्नुहुन्छ। उहाँले पछिल्लो समय नयाँ पुस्ताले डोकोको प्रयोगमा कमि ल्याउदा आफुले बनाएको डोको बिक्रि हुन छोडेको गुनासो गर्नुभयो। पहिले जस्तो बिक्रि नभए पनि आफ्नो खर्च चलाउन डोकोबाट हुने आम्दानीले सहज भएको बताउनुभयो।
प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालो लगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न स्थानीय सरकार लागि परेको बताउनुहुन्छ तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङजाली।
यस्ता खालका परम्परागत पेसालाई स्थानीय सरकारले संरक्षणसँगै विकासमा ध्यान दिन सोचेजस्तो नसकिएको उहाँको भनाइ छ।