पाल्पा– जिल्लाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर तीन तले बनाइने भएको छ । १९९० सालको भूकम्पअघिकै स्वरूपमा भगवती मन्दिर बनाउने तयारी गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । १९९० सालको भूकम्पअघि तीन तले रहेको भगवती मन्दिर भत्काएपछि दुई तले बनाइएको थियो । मन्दिर जीर्ण भएसँगै छानो चुहिएर प्लास्टिकको ओत राखिएको छ । मन्दिरको अवस्था जीर्ण भएका कारण मन्दिर पुन र्निर्माण गर्ने र उक्त मन्दिर तीन तले बनाउने तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार महर्जनले बताउनुभयो ।
उक्त मन्दिर तीन तले बनाउन डिजाइन र स्टिमेटको काम भइरहेको छ । त्यसका लागि आवश्यक बजेट लुम्बिनी प्रदेश सरकार र पुरातत्व विभागसँग माग गर्ने छलफल भइरहेको समितिका अध्यक्ष महर्जनले बताउनुभयो । जीर्ण भएको दुई तले मन्दिर भत्काएर पुरानै तीन तले स्वरूपमा बनाउन करिब चार करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । १८७१ सालमा नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौज विजय भएपछि तत्कालीन कर्णेल उजिरसिंह थापाको निर्देशनमा तीनतले मन्दिर बनाइएको थियो । त्यसअघि भगवतीको मन्दिर सानो थुम्काका रूपमा रहेको जानकारहरू बताउँछन् । नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेमा आफूले ठुलो मन्दिर बनाउने र भगवतीको महिमा फैलाउने कर्णेल थापाले भाकल गर्नुभएको थियो । जितगढी किल्ला विजय गरेर आएपछि १८७६ सालदेखि तानसेनमा लगातार भगवतीको जात्रा निकाल्ने प्रचलन रहेको छ ।
भगवतीको महिमा फैलाउन हरेक वर्ष भगवती जात्रा मनाउने प्रचलन रहेको छ । यो जात्रालाई राष्ट्रिय पर्वका रूपमा मान्यता दिन नेपाल सरकारसमक्ष माग गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।













