पाल्पा - प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले संसदमा प्रवेश गरेको एक वर्षको बितेको सन्दर्भमा शनिबार तानसेनमा पत्रकारसँग अन्तरक्रिया गर्नुभएकाे छ ।
उहाँले पाल्पाली जनताबाट निर्वाचित भएपछि एक वर्षकाे अबधिमा संसदमा उठाएका मुद्धा तथा अन्य विकास निर्माणका बारेमा जानकारी दिनुभएकाे हाे ।
भेटघाटमा गैरेले आफू र पाल्पा क्षेत्र नं. १ बाट निर्वाचित सांसद नारायणप्रसाद आचार्यले पाल्पाली जनताका समस्यालाइ संसदमा निरन्तर उठाएकाे बताउनुभयाे । उहाँले किसानले उत्पादन गरेका तरकारीले भाउ नपाएकाे, बाँदर समस्या, सिद्धार्थ राजमार्ग अन्तरगतकाे सुरूङ मार्ग निर्माण, तानसेन छहरा सडक, तानसेन रामपुर सडक, बाँसटारी झडेवा सडककाे स्तरउन्तिका बारेमा संसदमा आवाज बुलन्द पारेकाे बताउनुभयाे । यस्तै स्वास्थ्य वीमा, सडककाे नाजुक अवस्था, बजेट समानुपातिक रूपमा विनियाेजनकाे विषय र कालीगण्डकी काेरिडाेरकाे विषयलाइ संसदमा उठाएकाे गैरेकाे भनाइ छ ।
निरासालाई उत्साहमा पैदा गर्ने गरी संसदमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘बिहान उठ्ने बित्तिकै जनताले भ्रष्टाचार, बेतिथि र तस्करीका समाचार सुन्नुपर्ने अवस्थाले जनतामा व्यापक निरासा बढेकाले त्यसलाइ चिर्न सबै एकताबद्ध भएर परिवर्तनकाे पक्षमा लाग्नुपर्ने विचार राख्नुभयाे ।
संसदमा प्रवेश गरेको एक वर्षको अबधिमा आफूले संसदमा उठाएका धेरै मुद्दामध्ये सरकारले थोरै मुद्दा मात्र सम्बोधन गर्न सकेको उहाँले दावी गर्नुभयो । एक वर्षमा ९० पटक संसदको बैठक बसेकोमा आफूले ७९ वटा बैठकमा सक्रिय रूपमा सहभागी भएको गैरेको भनाई छ ।
संसदले एक वर्षको अबधिमा धेरै काम गर्न सक्ने भएपनि धेरै काम गर्न नसकेको र त्यसमा सरकारले ऐन तथा कानुनहरू टेबल गर्न नसकेको गैरेले उल्लेख गर्नुभयो ।
नेता गैरेले आगामी दिनमा पनि आफूले संसद्मा असल जनप्रतिनिधिका रूपमा भूमिका खेल्ने र जनताका चाहना र आवश्यकतालाई मध्यनजर गर्दै कानुन निर्माणमा सहभागी बन्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।













