पाल्पा – चाडपर्व र विदाको समय घुमफिर गर्नका लागि निकै उपयुक्त समय मानिन्छ । विदेशीमात्रै नभएर पछिल्लो समय नेपालीमा पनि घुमफिर गर्ने ट्रेण्ड बढ्दो छ ।
त्यसमाथि पनि नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पनि आउँदै छ । तिहार विदामा धेरैले घुम्न जाने योजना बनाउँछौं । तर, घुम्ने ठाउँको बारेमा जानकारी नहुँदा अलमलिइरहेका हुन्छौं ।
घुम्न जाने ठाउँबारे पर्याप्त पूर्वसूचना नहुँदा रमाइलो गर्न जाँदा सास्ती खेप्नुपर्ने अवस्था समेत आउँछ । आउनुस् तिहार विदाको समयमा घुम्न जाने पाल्पाका यी पर्यटकीय गन्तव्य स्थलहरू
१.रानीमहल
पाल्पाको तानसेन बौघागुम्हामा रहेको अर्को पर्यटकीय गन्तव्य हो रानीमहल । यसको आफ्नौ ऐतिहासिक विशेषता रहेको छ । रानीमहल वि.स.१९५० मा शिलान्यास भइ चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको हो । पाल्पाको सदरमुकाम तानसेनबाट १३ किलोमिटर दूरीमा बौद्धगुम्बा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा चिनिन्छ । कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ ढुङ्गाबाट निर्मित दुईवटा पोखरी, दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । यस महलको पूर्वतिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन् । त्यस्तै वरिपरि रहेको बगैँचा र रानी पोखरीले महल आकर्षक देखाएको छ ।
२. श्रीनगर
पाल्पाको श्रीनगर पनि प्रकृति प्रेमीका लागि मनमोहक लाग्दछ । तानसेन नगरपालिका पहिले बतासेडाँडा वृक्षहीन सुख्खा थियो । तर पछि विभिन्न बिरूवाहरू रोपेर रमणीय उद्यानमा परिणत गरियो र बतासेडाँडा श्रीनगर बन्यो । यहाँ मन्दिर, बुद्धको मूर्ति र बगैँचाहरूसमेत छन् । झण्डै १५०० रोपनी क्षेत्रफलमा फैलिएको श्रीनगर शान्त, सुरम्य जङ्गल, समय अनुकूल स्वस्थ्यकर हावापानीका लागि उपयुक्त ठाउँ कहलिएको छ । श्रीनगर बाघ, चितुवा, खरायो, दुम्सी आदि जनावरहरू र कालिज, तित्रा, कोइली प्रजातिका पन्छीहरूको बसोबास बनेको छ । वनविहार र वनभोजका लागि प्रख्यात यो ठाउँबाट माछापुच्छ्रे, हिमालचुली, अन्नपूर्ण, काञ्जीरोवा, मनास्लु, गणेश हिमाल आदिको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यसका अतिरिक्त सूर्योदय, माडी उपत्यका र सफा मौसममा भारतको उत्तरी भाग गोरखपुरसम्मको रेलहरूको समेत रोमाञ्चक अवलोकन गर्न सकिन्छ ।
३.पाल्पा दरबार
पाल्पा दरबारमा अहिले पाल्पा दरबार संग्राहलय छ । यस क्षेत्रकै विशेष संग्राहलयको रुपमा स्थापित गर्ने गरी ५ नं.प्रदेश सरकारले यहाँ लगानी गरिरहेको छ । तत्कालित पश्चिम कमाण्डर जनरल प्रतापशमशेरले प्रशासकीय कार्य सन्चालन गर्न निजि प्रयोजनका लािग वि.सं.१९६९ मा बेलायती शैलीमा बनाएका थिए । यो दरबार ७–१४–२–१ रोपनी क्षेत्रफलमा फैलिएको छ । अत्यन्त आधुनिक शैलीमा बनाईएको यस दरबारमा ४ तला, ६३ कोठा, २ बैठक कोठा र २ बुर्जा समेत रहेको थियो । पहिले दरबारमा अधिकांश सरकारी कार्यालय संचालनमा रहेको थियो । माओवादी जनयुद्ध ताका ध्वस्त गराइएको यो दरबारको पुरानै स्वरुप अनुरुप पुनर्निर्माण सकिएर अहिले पाल्पा दरबार संग्राहलय संचालनमा छ ।
४.अमरनारायण मन्दिर
वि.सं. १८६३ मा भगवान विष्णुका भक्त अमरसिंह थापाले सुन्दर बगैचा र अटुट पानीको मुहान नजिकै निर्माण गरेका अत्यन्त कलात्मक मन्दिर अमरनारायण मन्दिर हो । यो मन्दिर तानसेन नारायण स्थानमा अवस्थित छ । भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिनमा रथ निकाली जात्रा गर्ने परम्परा अद्यापि छंदैछ । मन्दिर संचालन गर्नका लागि गुठीको समेत ब्यवस्था गरिएको छ । मन्दिरमा रहेका कलाकौशलता बुझ्नका लागि यसबाट सहयोग पुग्छ । यसका साथै इतिहासप्रति रुचि राख्ने मानिसका लागि पनि अमरनारायण मन्दिरले आकर्षित गर्छ ।
६.भैरव मन्दिर
पाल्पा जिल्लाको सदरमुकाम देखि ९ किलोमिटर पश्चिम रिब्दीकोट गाउँपालिकाको भैवस्थानमा भैरव मन्दिर छ । पहाडको टुप्पोमा अवस्थित ठुलो त्रिशुल रहेको यो मन्दिरमा प्रायः सधैभरि नै मेला लागेता पनि विशेषगरी मंगलबार र शनिबारका दिन पूजा लाग्दछ । विभिन्न चाडपर्वहरुमा बोका, हाँस, कुखुरा, र पाडाहरुको बली यहांका कालभैरवलाई दिईन्छ । यस क्षेत्रबाट अधिकांश हिमशिखरहरुको दृश्यावलोकन गर्न सकिन्छ । यो मन्दिरमा पूजा गरेर आफ्नो मनोकांक्षा पूरा गर्ने र शक्ति आर्जन गर्न सकिने विस्वास छ । यसलाई यस क्षेत्रकै ठूलो शक्तिपीठको रुपमा लिइने गरिन्छ ।
७.ऋषिकेश मन्दिर
सदरमुकाम तानसेनदेखि ३० कि.मि. पश्चिम मणिमुकुन्द सेनले स्थापना गरेको यो मन्दिरमा कलात्मक ढङ्गले कुंदिएका विभिन्न मूर्तिहरु छन् । यस क्षेत्रलाई रुरु क्षेत्र पनि भनिन्छ । श्री स्वस्थानी ब्रतकथाअनुसार यहा सतीदेवीको अङ्ग पतन भई सत्येश्वर महादेव उत्पन्न भएको थियो, त्यसैले सत्येश्वर महादेवको मन्दिर पनि छ । यस क्षेत्रमा माघे सक्रान्तिमा तीन दिनसम्म विशाल मेला लाग्दछ । स्याड्जा, पाल्पा, गुल्मीको संगमस्थल यस ठांउमा तीर्थ गर्न भारत लगायत अन्य देशका हिन्दु भक्तजनहरुसमेत आउने गर्दछन् ।
८.कौडेलेक
पाल्पा मूलत पहाडै पहाडले घेरिएको जिल्ला हो । माथागढी–३, कसेनीको कौडेलेक पाल्पाको सबैभन्दा उच्च स्थानमा रहेको लेक मानिन्छ । यहाँबाट पाल्पाको अन्न भण्डार माडीफाँट, सदरमुकाम तानसेन, उत्तरतर्फका हिमश्रृंखलाहरु देखिन्छ । यसका साथै यहाँबाट ५ नं. प्रदेशको राजधानी बुटवल, भैरहवा, परासी लगायतका शहर समेत देखिन्छ । रातको समयमा यहाँबाट उत्तरतर्फ तानसेन र दक्षिणतर्फ बुटवल शहर झिलिमिली देखिन्छ । प्रकृतिसँग रमाउन रुचाउने आगन्तुकका लागि कौडेलेक पनि आकर्षक बन्न सक्छ । कौडेलेकको तल्लो भागमा मगर समुदायको मात्र बस्ती ओलेस रहेको छ ।
९.तालपोखरा
रामपुर नगरपाािलकाभित्रको महत्वपूर्ण पर्यटकीय स्थल हो, तालपोखरा । यहाँ जाने पर्यटकले डुंगामा शयर गरेर आनन्द लिन सक्छन् । दुई वर्षदेखि यहाँ सानो तालमा डुंगा संचालनमा छ । पोखराको फेवाताल घुम्न जाने पर्यटकले तालपोखरामै फेवातालको मजा लिन सक्छन् । स्थानीय बासिन्दा र रामपुर नगरपालिकाको संयोजनमा यहाँ मानव निर्मित ताल बनाइएको हो । लगभव २० रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । बीच भागमा फेवातालमा जस्तै मन्दिरको दर्शन पनि तालपोखरामा घुम्न जाने पर्यटकले गर्न सक्छन् ।














