पाल्पा–तिहार नजिकिएसँगै पाल्पाको सदरमुकाम तानसेन बजारका पसलहरुमा प्लास्टिकका मालाले भरिभराउ छन् । केही दिनअघि मात्रै फूल माला नदेखिने बजार क्षेत्रका पसलमा तिहार नजिकिएसगैं माला लगायतका सामग्री राखिएका छन् । बजारका ठाउँठाउँमा तिहार लक्षित सामग्री राखिएका छन् । तानसेनका बजार क्षेत्रका पसलमा माला र तिहारका सामग्रीले रङ्गिएका छन् । तर बजारमा पाइने सबै माला प्लास्टिकका हुन् ।
जिल्लाको १० वटा स्थानीय तहहरू मध्ये माथागढी गाउँपालिका र तानसेन नगरपालिकाले एक सुचना प्रकाशन गर्दै सयपत्री फुलमा आत्मनिर्भर भएकाले फुल कृषकलाई प्रोत्साहन गर्न प्लास्टिकको फुल बिक्री नगर्न आग्रह गरेको भएता पनि सुचनामा मात्र सिमित रहेको छ । बाहिरी जिल्लामा सयपत्रीको मालाको ठूलो व्यापार हुने गरेको भए पनि तानसेन बजार भने प्लास्टिककै मालामा भर परेको छ । जिल्लामा बर्सेनि ठूलो मात्रामा प्लास्टिकका माला खपत हुने गरेको छ । जिल्लाका सयपत्री फुल कृषकका अनुसार पाल्पामा फुल मालाको बजार नरहेकोले बुटवल लगायतका जिल्लामा पठाउनुपर्ने बाध्यता रहेको बताउँछन् ।
यस्तै तानसेन नगरपालिका–१० का राम बहादुर कुमालले फुल खेति गर्दै आएको भएपनि नगरपालिका र वडा कार्यालयले कुनै चासो नदिएको बताउँदै नगरपालिकाले सुचना जारी गरेको भएता पनि सबै फुल कृषकलाई समेतन नसकेको बताउनुभयो ।
“फूलको व्यावसायिक उत्पादन भएको छ तर जिल्लामा बजारीकरणको समस्याका कारण तिहारमा प्लास्टिककै मालाको भर पर्नुपरेको छ”, उहाँले भन्नुभयो । गाउँघरमा विभिन्न जातका फूलको सामान्य उत्पादन हुने गरेको छ । तर तिहारका लागि फूल किनेर माला बनाउने बानीको विकास नहुँदा यसको व्यापार सुरु हुन सकेको छैन् ।
सरकारले प्लास्टिकका माला बिक्री वितरणमा रोक लगाएको छ । तर बजारमा प्लास्टिकको माला धमाधम बिक्री भई रहेको छ ।













