पाल्पा– पाल्पा जिल्लामा यो वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यो वर्ष पाल्पामा धान उत्पादन घटेको हो । धान खेती गर्ने क्षेत्रफल घटेका कारण यो वर्ष उत्पादनमा असर गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । ज्ञान केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार यो वर्ष पाल्पाको धान उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव आठ प्रतिशत मात्र छ । गत वर्ष आठ दशमलव नौ प्रतिशत थियो ।
गत वर्ष आठ हजार २१० हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा यो वर्ष घटेर सात हजार ३९० हेक्टर क्षेत्रफलमा मात्र धानखेती भएको थियो । यो वर्ष पर्याप्त पानी नपरेका कारण र खेती गर्ने जनशक्ति अभावका कारण धान खेती गर्ने क्षेत्रफल घटेको ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो ।
धान खेती हुने क्षेत्रमा सिंचाइको अभावका कारण पनि धान लगाउने क्षेत्र घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको माडी, रामपुर, कचल, पूर्वखोला, झडेवा, निस्दी, कालीगण्डकी बेंसी, अर्गलीलगायत फाँटमा साँवा मन्सुली, युएस–३१२, शान्ति, खुमल, सिरिज, खुमल–३, सुख्खा धान, सावित्री तथा स्थानीय जातको धान लगाउदै आएका छन ।













