सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा सुरूङमार्ग निर्माणको काम अहिले भौतिक रूपमा रोकिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माणको ठेक्का लिएको सुरुङमार्ग निर्माणको क्रममा असारको पहिलो साता सुरुङमार्गका दुई वटा टनेल पहिरोमा परेपछि भौतिक निर्माणको काम स्थगित गरेर अन्य काम भइरहेको छ ।
सिद्धबाबा मन्दिर तलको डाइभर्सन काम सकेर टनेल पोर्टलको निर्माणको कामलाई तीव्रता दिएको बेलामा पहिरोले भत्काएको थियो । कम्पनीले अन्य निर्माणको काम दसैँपछि मात्रै सुरु गर्ने योजनामा रहेको सुरुङमार्ग निर्माण परियोजनाको सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले ठेकेदार कम्पनी भौतिक रूपमा देखिने भन्दा अन्य काम गरेका छन् । दसैँपछि भौतिक प्रगति देखिनेछ ।’
१ हजार १२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडियाखोला पार्कसम्म ल्याउन १० अर्ब रकम लाग्ने अनुमान गरिएको छ । तर परियोजनाको पूर्ण डीपीआर अझैसम्म आएको छैन। यो सुरुङमार्गको लागि स्वीडेन सरकारले प्राविधिक सहयोग गरेको छ । गतवर्ष ग्लोबल टेन्डर हुँदा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का पाएको थियो। सुरूङमार्ग ५ वर्षभित्र बनाउने सम्झौता छ ।उसले तोकिएको समय ९ महिनाभित्रै डिजाइनको बुझाएको थियो । त्यही निर्माण कम्पनीलाई डिजाइनसँगै निर्माणको जिम्मा दिइएको थियो ।
क्रसर प्लट स्थापनापछि स्थानीय असन्तुष्ट
पाल्पाको तिनाउ गाउँपालिका–३ को तिनाउ खोलानजिकै करिब एक महिनाअघि निर्माण कम्पनीले क्रसर प्लान्ट स्थापना गरेपछि स्थानीयबसी असन्तुष्ट भएका छन् ।
सिद्धबाबा सुरुङमार्ग आयोजनाको ठेकेदार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले क्रसर प्लान्ट स्थापना गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । क्रसर प्लान्टले दोभान गाउँका स्थानीयबासीलाई वातावरणमा हानी पुर्याएको भन्दै विरोध आएपछि एकपटक कम्पनीको प्रतिनिधि र आफूहरू छलफलको लागि बसेको उहाँले जानकारी दिनुभयो । तिनाउ नदीको ५० मिटरको परिधिमा स्थानीय वन, झोलुङ्गे पुल र पक्की पुलको छेउमा क्रसर प्लान्ट स्थापना गर्दा गाउँपालिकालाई जानकारी नदिएको उहाँको भनाई छ ।
संघीय र प्रदेश सरकारको नियमअनुसार पुल र राजमार्गको ५०० मिटरभित्र क्रसर प्लान्ट सञ्चालन गर्न पाइँदैन। स्थानीयहरुले प्लान्ट बन्द गर्नुपर्ने माग गर्दै निवेदन दिएपछि गाउँपालिकाले उक्त कम्पनीलाई आईईई वा ईआईए प्रतिवेदन बुझाउन आग्रह गरेको थियो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले तिनाउ खोलाबाट उत्खनन गरिएको ढुङ्गा तथा अन्य सामग्री बुटवलको सडक निर्माण स्थलमा निकासी गरेको स्थानीयले आरोप लगाएका छन् ।
दोभानका विष्णु पाण्डेयले कम्पनीले सुरुङमार्ग निर्माणको भौतिक काम अहिले रोकिएको अवस्थामा क्रसर प्लान्ट खोली नदीजन्य पदार्थ उत्खनन गरी अवैध रूपमा बुटवल पठाउने गरेको आरोप लगाउनुभयो ।
उता, परियोजनाको सूचना अधिकारी इन्जिनियर सम्झना ज्ञवालीले आयोजनाले क्रसर प्लान्ट स्थापना गर्दा मन्त्रालयबाट अनुमति लिएको जानकारी आफूले पाएको बताउनुभयो।
आयोजना कार्यालयका अनुसार सुरुङ निर्माणका लागि चिनियाँ कम्पनीसँग २०२२ चैत ९ गते ७ अर्ब ३४ करोडको सम्झौता भएको थियो। पहिलो चरणको काम सुरु गर्न अहिलेसम्म ५८ करोड निकासा भइसकेको छ ।













