पाल्पा– वर्षाका कारण बिग्रिएको सिद्धार्थ राजमार्ग मर्मतसुधार सुरु भएको छ । सिद्धार्थ राजमार्ग सहित जिल्लाको ग्रामीण क्षेत्रमा पुग्ने सडकको मर्मत सुधारको कार्य सुरु गरिएको हो ।
पाल्पा जिल्लाअन्तर्गत पर्ने राम्दीदेखि रुपन्देहीको चिडियाखोलासम्मको सडक सुधार गर्न काम थालिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बावुराम सापकोटाले जानकारी दिनुभयो । चाडपर्वमा सहज यात्राका लागि सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । दसैँअघि सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा पर्ने ७० किलोमिटर सडकको सुधार गर्ने लक्ष्य लिइएको प्रमुख सापकोटाले बताउनुभयो ।
सडकको अवस्था राम्रै भएको तर साना खाल्डोले निम्त्याउन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सडक मर्मतसुधारको काम गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सडकका खाल्टाखुल्टी पुर्ने र ग्रामीण क्षेत्रका सडकको मर्मतसुधार भए दुर्घटनामा समेत कमी आउने ट्राफिक प्रहरीले जनाएको छ । वर्षातका बेला बिग्रिएका सडकको अवस्था सुधार भए चाडपर्वका बेला हुन सक्ने दुर्घटनामा कमी आउने ट्राफिक प्रहरी प्रमुख राजकुमार चापागाईले बताउनुभयो ।













