सुमन कार्की
समाजमा हिजोआज तिजको दरको नाममा कहिले कहाँ कहिले कहाँ दिदी बहिनी हरुलाई भ्याई नभ्याइ नै छ कहि कतै त विहान एकठाउ दिउँसो अर्कोठाउ दरको नाममा पार्टी नै गरेको देखिन्छ । तिज चाड यसरी खायर मनाउने चाड होईन बरु भोकै बस्ने, उपवास बस्ने, तपस्या गर्ने चाड़ हो।
देवी पार्वतीको विवाह अन्तै निश्चित गरिएपछि, आफ्नो घरबाट भागेर महादेवलाई नै पतिको रूपमा पाउनका लागि वहाँले भोकभोकै तपस्या गर्नुभयो। त्यसैसँग सम्बन्धित चाड़ हो । तीज, जसमा अविवाहिता कन्याले सुयोग्य पति पाउनका लागि व्रत बस्छन् भने, विवाहिता महिलाले पतिको सुस्वास्थ्य र दीर्घायुको लागि व्रत बस्छन्। भोलिपल्ट दिनभरी भोकभोकै बस्नुपर्ने हुनाले, अघिल्लो रातमा उठेर पेटलाई आडिलो हुने, पेट दह्रो हुने कुरा खाने प्रचलन रह्यो त्यसैलाई दरभनिन्छ।
पहिलापहिला यातायातको साधन नहुने, सञ्चारका साधन पनि नहुने, र घरधन्दामा व्यस्त रहने हुँदा, बिहे गरेकी छोरीले हिजोआज जस्तो फोनमा आफ्नो हालखबर सुनाउने, बेलाबेलामा आमाबाबा दाजुभाई भेट्न गइराख्ने अवसर मिल्थेन। त्यसैले, विवाहिता महिलाले आफ्ना परिवारसँग भेटघाट गर्ने, र घरमा आफ्ना श्रीमान् सासु ससुराले दुःख दिएको भए, माइतीमा त्यो दुःख पोख्ने विशेष चाडको रूपमा पनि तीजको महत्व छ। त्यसैले, पहिलेका तीजका गीतमा प्रायः महिलाका वेदनाहरू समेटिएका हुन्थे।
तर,अहिले त्यो अवस्था छैन। सञ्चारमाध्यमको विकासले दिनदिनै घरमा फोन, भिडियो कल गरेर, सासुले दिएको दुःख होइन, आज के के तरकारी पाक्दै छ भनेर समेत खबर आदानप्रदान गर्ने सुविधा छ। यातायातको विकास, र शहरीकरणका कारण गाइवस्तु पाल्ने काम कम हुनाले, एकदुई दिन घर छोडेर माइती जान मिल्ने सुविधा धेरैलाई प्राप्त छ। त्यसका लागि तीज कुरिरहनु पर्दैन। तै पनि, तीजमा माइती जानु एउटा सामाजिक परम्पराको रूपमा रहेका हुनाले त्यसलाई निरन्तरता दिनु उचित छ। कुनै कारणवश घरपरिवारसँग भेटघाट हुन नपाउनेले पनि एउटा अवसर पाउँछन्।
तीज वास्तवमा यो हो। तर, हिजोआज हिन्दूका चाडपर्वमध्ये तीज नै सबैभन्दा विकृत अवस्थामा छ। कसैका लागि महङ्गा गरगहना, कपडा प्रदर्शन गर्ने समय बनेको छ भने, कसैका लागि दरको नाममा रक्सी,मासुको पार्टी गर्ने अवसर बनेको छ। आज यसको घरमा दर, भोलि उसको घरमा दर, पार्टी प्यालेसमा भेला भएर दर खाने कार्यक्रम यी कुनै पनि कार्यक्रम, न त तीज हो, न त दर हो। तीज वास्तवमा खाने चाड नै होइन, व्रत बस्ने चाड हो।
तीजको दिनमा व्रत बस्नेहरूले अघिल्लो रातमा पेटलाई आड दिने सात्विक र स्वस्थकर खाना खाने त्यो एकदिनको भोजन नै दर हो। कसैलाई खान, रमाइलो गर्न रोकेको होइन, तर पार्टीलाई, वा लुकिछिपि गरिने दारु पार्टी लाई दरको नाम दिएर तीजको गरिमालाई, हाम्रो परम्परा र संस्कृतिलाई, एवं माता पार्वतीको तपस्यालाई विकृत गर्ने कार्य नगरौँ।
पार्टी भनेर खाउँ, त्यसमा दर वा तीज शब्द नजोडौँ। दर खाने जम्मा एक दिन हो तीजको अघिल्लो रात।













