पाल्पा रामपुर, बसुदेव ढकाल
पाल्पाको दोस्राे नगरपालिका रामपुरलाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन अन्तर्गत योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सोमबार भएको छ । रामपुर नगरपालिकाको आयोजना र शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोग, परामर्शदाता ग्लोबल इन्फर्मेशन सर्भे एण्ड म्यापिङ्ग कन्सर्न प्रा.लि.को सहजीकरणमा भएको गोष्टीमा सम्भाव्यता अध्ययनको क्रममा सरोकारवालाहरु संग राय तथा सुझाव संकलन गरिएको थियो ।
कार्यशाला गोष्ठी छलफल पश्चात आफ्नो धारणा राख्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले दिर्घकालिन सोचका साथ व्यवस्थित शहर निर्माणका लागि योजना बनाउनु पर्ने बताउनु भयो । साथै उहाँले प्रदेश सरकारले कृषि क्षेत्रलाई जोड दिएको बताउँदै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर व्यवस्थित शहर निर्माणको योजना अघि बढाउन जोड दिनु भयो । गोष्ठिमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरपालिकालाई भविष्यमा कस्तो बनाउने र कसरी व्यवस्थित शहर बनाउने भन्ने जिम्मेवारी अहिले सबैको काँधमा आएको बताउनु भयो । रामपुर नगरपालिका प्राकृतिक र भौगोलिक हिसाबले अत्यन्तै सुन्दर रहेको भन्दै यहाँको संरचना र भुगोल नविग्रोस भन्ने सोँचका साथ अघि बढेको भन्दै यसका लागि सबैको प्रयास आवश्यक रहेको बताउनु भयो ।
रामपुर नगरपालिकालाई व्यापारिक केन्द्रको रुपमा विकास गर्न हरेक तह र क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा ग्लोबल इन्फर्मेशन सर्भे एण्ड म्यापिङ एण्ड कन्सर्न प्रालिका योज्ञेन्द्रपूर्ण श्रेष्ठले व्यवस्थित शहर निर्माणका लागि नगरको भौगोलिक अवस्था , सडक , शिक्षा , स्वास्थ्य , कृषि , पर्यटन , उद्योग र व्यापार लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो । साथै व्यवस्थित शहर निर्माणका लागि विगत ४ महिना देखिको सम्भाव्यता अध्ययनको प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो । कार्यशालामा नगर भित्रका विभिन्न स्थानलाई आवास ,उद्योग , व्यापार , कृषि , पर्यटन, सडक , शिक्षा स्वास्थ्य लगाएतको क्षेत्र निर्धारण गरिएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।
रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगर भित्रका विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो । नेपाल सरकार शहरी विकास मन्त्रालय , शहरी विकास तथा भवन निर्माण विभागको व्यवस्थित शहर निर्माण योजना अन्तर्गत रामपुर नगरपालिकालाई व्यवस्थित शहर निर्माण गर्न लागेको हो ।













