पाल्पा, ७ साउन । पुष्पलालको ४५औँ स्मृति दिवस आइतबार पाल्पामा पनि मनाइएको छ ।
नेकपा एमाले तानसेन नगर कमिटीले ‘पुष्पलाल र आजको राजनीति’ विषयक छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा जिल्ला स्थित सबै दलको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले पुष्पलालले अगाडि सारेका विचार र सिद्धान्त अनुसार नै एमाले पाटी अगाडि बढिरहेको बताउनु भयो । कम्युनिष्टका नेताले असल नियतका साथ जनताको हितमा काम गर्नुपर्ने उहाँले बताउनु भयो । सुखी नेपाली, समृद्ध नेपाल लक्ष्य पूरा गर्न सके सच्चा रुपमा पुष्पलालको सम्मान हुन्छ । राष्ट्रियता, लोकतन्त्र, संविधान र मुलुकको सार्वभौम रक्षाका लागि सबै दल एकजुट हुनुपर्ने रहेको उहाँले बताउनु भयो । अहिले नेपालका पुराना सबै राजनीतिक दल र नेताहरूलाइृ कमजोर बनाएर बाह्य शक्तिले नेपाललाई आफ्नो कब्जामा लिन खोजि रहेको छ । मुख्य राजनीतिक दलनै कमजोर भए वैदेशिक हस्तक्षेप बढ्ने हुँदा सच्चिएर जनताको हितमा काम गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले नेताहरूले व्यक्तिगत स्वार्थ नभई जनता र राष्ट्रको स्वार्थमा काम गर्नुपर्ने बताउनु भयो । क्षणिक स्वार्थका लागि पुष्पलाल, विपिजस्ता नेताका सिद्धान्त र विचारलाई आफ्नो अनुकूल व्याख्या गर्ने प्रवृति अहिलेका नेतामा बढिरहेको पाइन्छ । पुष्पलाल जस्तै सम्मानित हुने गरी काम गर्न सुझाउनु भयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले नेताहरू सच्चिन पर्ने बेला आएको बताउनु भयो । आपसी खिचतानीले कम्युनिष्टको बदनाम भइरहेको छ । सबै बामपन्थी दलहरूबीच गम्भीर छलफल गरी एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । नेकपा माओवादी केन्द्र पाल्पाका सचिव मथुरा ढकालले पुष्पलाल अंगकार गरेको सिद्धान्त र विचारबारे सबै स्पष्ट हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सचिव सुमन गैरेले पुष्पलाल जस्ता आदर्शवान नेताले देखाएको बाटोमा हिंड्न सके मुलुकको समृद्धि सम्भव रहेको बताउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले आदर्श र विचारवान नेताको अभाव रहेको बताउनु भयो । देश अहिले गम्भीर संकटमा छ। नयाँ सोंचका साथ राजनीतिक दलहरूले काम गर्नुपर्ने उनले सुझाउनुभयो । राष्ट्रिय जनमोर्चा पाल्पाका सह–सचिव नरमती सिङ्जालीले पुष्पलालको विचार र सिद्धान्तलाई पूरा गर्न अहिलेका नेता परिवर्तन हुनुपर्ने अवस्था रहेको बताउनु भयो ।
नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे पुष्पलालको जीवनी र योगदानबारे चर्चा गर्नु भएको थियो । पुष्पलालले देखाएको बाटो हिंडेका कारण अहिले पनि एमाले मुलुकको लोकप्रिय दल बनेको उहाँले बताउनुभयो ।
नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले आदर्शवान नेताको विचार र सिद्धान्तबारे बेलाबखत सबै दलबीच गन्थनमन्थन हुनसके मुलुकलाई सही दिशामा लैजान सकिने बताउनुभयो। यसको सुरुवात एमाले नगर कमिटीले गरेको उहाँले बताउनु भयो ।
कार्यक्रममा विभिन्न पार्टीका जिल्लास्थित नेता तथा कार्यकर्ता र शुभचिन्तक, वुद्धिजीवीको सहभागिता रहेको थियो ।













