असार २९, पाल्पा
पाल्पा — पाल्पाको बाँसटारीमा यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले दुई पांग्रे सवारी साधनको लाइसेन्सका लागि ट्रायल (परीक्षण) शुक्रबारबाट सुरु गरेको छ । तराईमा मात्र हुँदै आएको ट्रायल लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पहिलो पटक सुरु भएको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले ट्रायलको शुभारम्भ गरेका हुन्। तानसेन नगरपालिका–७, बाँसटारी ठाँटीमा ट्रायल सुरु भएपछि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा सम्मका नागरिकले सेवा पाउने छन् ।
एक साता अघि लिखित परीक्षा लिएर शुक्रबार दुई पांग्रे स्कुटी र मोटरसाइकलको ट्रायल गराइएको हो । लिखित परीक्षमा उत्तीर्ण १९० जनाको ट्रायल लिइएको यातायात सेवा व्यवस्था कार्यालयका प्रमुख केशव सुनारले बताए । आगामी दिनमा जनताले सहज ढंगले सेवा पाउनुपर्ने जिल्ला समन्वय समितिकी उप प्रमुख काशिका गैरेले बताइन् ।
सिद्धार्थ राजमार्गको बाँसटारीदेखि एक किलोमिटर नजिकमा सुरु ट्रायल सेन्टरका लागि अघिल्लो वर्ष एक करोड बजेट विनियोजन भएको थियो । ट्रायल सेन्टर नजिक सेवा कार्यालयका भवनका लागि जग्गा व्यवस्थापन भएको र आगामी आर्थिक वर्षमा निर्माण सुरु हुने वडाध्यक्ष प्रदीप खनालले बताए । यस वर्ष एक करोड बजेट विनियाेजन भएकाे छ ।













