तानसेन – बैँकले लिदै आएको चर्को व्याजका बिरूद्ध पाल्पाका व्यापारी तथा व्यवसायी बिरोधमा उत्रिएका छन् । पाल्पाका उद्योगी तथा व्यवसायीहरूले चर्को व्याजदर वृद्धिको बिरोध गरेका हुन् । उनीहरूले बैँक तथा वित्तीय संस्थाहरूले कर्जाको व्याजदरमा अस्वभाविक वृद्धि गरेको भन्दै विरोधमा उत्रिएको बताएका छन् ।
पाल्पा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा उनीहरूले व्याजदर वृद्धिप्रति आपत्ति जनाउँदै जिला प्रशासन कार्यालय पाल्पामा ज्ञापनपत्र बुझाएका छन् । बैँकको व्याजदरविरुद्ध मङ्गलबार जिल्ला प्रशासन कार्यालय पाल्पामार्फत सङ्घले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र पठाएको सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिए। उनीहरूले पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तलाइ ज्ञापनपत्र बुझाएका हुन् ।
कोरोना महामारी र आर्थिक मन्दीका कारण व्यवसायीले समस्या झेलिरहेका बेला बैँकले एक्कासी व्याजदर बढाएको उद्योगी व्यवसायीको आरोप छ । बैँकले गरेको व्यवहारका कारण उद्योगी व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको अध्यक्ष भट्टराइले उल्लेख गरे ।
एकपक्षीय रुपमा गरिएको व्याजदर वृद्धि तथा संशोधित कर्जा नीति तत्काल फिर्ता लिनुपर्ने व्यवसायीहरुको माग रहेको छ ।














