रुपन्देही । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको दुई तिहाई बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकरात्मक पक्ष नभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले बताउनु भएको छ ।
बहुमत हुँदापनि संसद बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको बताउँदै नेता साउदले अनिवार्य संसद सञ्चालन गरि बिधेयक मार्फत आउन सरकारलाई सुझाव दिनुभयो ।
रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य साउदले संसद छलेर अध्यादेशमार्फत गएका कुराहरुले स्थायीत्व दिन नसक्ने बताउनु भयो । उहाँले अध्यादेशमार्फत ल्याइएका विषयवस्तुमा बिपक्षी दलको पनि समर्थन हुने खालका विषय भएपनि संसदमा नलैजाँदा प्रश्न उठेको तर्क गर्नुभयो ।
पूर्वमन्त्री समेत रहेका साउदले भन्नुभयो, ‘संसदलाई लामो समयसम्म बन्धक बनाउँदै अध्यादेशमार्फत अहिलेको सरकारले बिभिन्न ऐनहरु निर्माण बनाइरहेको छ, जुन संविधानसंवत छैन् । यसको विषयमा चौतर्फी बिरोध भईरहेका छन् । यसले राम्रो सन्देश गइरहेको छैन् । ’
उहाँले केपी शर्मा ओली नेतृत्वकसरकारलाई नेपाली कांग्रेस पार्टीले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो गर्नुभयो । उहाँले दुई दलबीचको न्युनतम साझा सहमती कार्यान्वयन नभएको गुनासो आईरहेको भन्दै पूर्ण पालना गर्न सुझाब दिनुभयो ।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘अब यसलाई कसरी उन्नत बनाउने भन्ने विषयमा गहन छलफल गरी राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्दछ,’ उहाँले भन्नुभयो ।
उहाँले संविधान संसोधन सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा अब संविधान सबैले सर्वस्वीकार्य हुने र अपनत्व गर्नेगरि संसोधन गर्ने बेला आएको जवाफ दिनुभयो । उहाँले स्थिरताको तत्व संविधानमा जोडिनुपर्ने बताउँदै संविधानमा स्थायित्वको तत्व समावेश हुन सक्दैन् भने संवैधानिक प्रवन्ध उचित नहुने तर्क गर्नुभयो ।
उहाँले भने, ‘हरेक १० वर्षमा संविधानका कुराहरु परिवर्तन गर्नु आवश्यक छ । संविधान संसोधन परिमार्जनको कुरा सर्वस्वीकृत बनाउनु पर्छ । राज्य व्यवस्थालाई जनताको स्पष्ट पहुँच भएको संयन्त्रको रुपमा अगाडी बढाउनु पर्छ । यो अभिष्ट (उद्देश्य) नेपाली कांग्रेसको हो ।’
ठूला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । ‘सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छ,’ साउदले भन्नुभयो, ‘सहमति विपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ ।’
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा आचार्य प्रदीपको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतकमा नियुक्त जमुना ढकाललाई सम्मान समेत गरिएको थियो । ढकाललाई नेता साउद सहितका नेताले सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा. डिला संग्रौला, अब्दुल सतार, चम्पा खड्का, गंगा शाही, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका निवर्तमान सचेतक निर्मला क्षेत्री, नेपाली कांग्रेस रुपन्देही कोषाध्यक्ष हरि प्रसाद अर्याललगायतको उपस्थिति रहेको थियाे ।













