पाल्पा।
यही मङ्सिर १६ गते देशभर ४४ पदका लागि हुन लागेको उपचुनावमा ४१० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
जसमध्ये ३४२ पुरुष, ६६ महिला र अन्य २ जना छन् । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ। भोलि मंगलबार ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निणर्य गरी ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
बुधबार ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको जनाएको छ । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा यहि मङ्सिर १६ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।













