सुमित्रा कंडेल
पाल्पा: पाल्पाको तानसेन ८ का कल्पना पाण्डेका ३ छोराछोरी सामुदायिक विद्यालयमा पढ्छन। उहाँलाई पहिले स्कुलमा दिवा खाजाको व्यवस्था नहुँदा बिहान खाना र खाजा बनाएर छोराछोरीलाई विद्यालय पठाउन भ्याइनभ्याई हुन्थ्यो।आजभोलि भने उहालाई धेरै सहज भएको छ।
संघीय सरकारले कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि १५ रुपैयाँ खाजा अनुदान दिएको छ। सरकारको यो अभियान पाल्पाको तानसेन नगरपालीका, रम्भा, तिनाउ गाउँपालिका र निस्दी गाउँपालिकामा निकै प्रभावकारी देखिएको छ। संघीय सरकारले दिएको अनुदानमा थप ५ रुपैयाँ थपेर स्थानीय तहले विद्यार्थीलाई खाजा खुवाइरहेका छन्।
तानसेन नगरपालिका अन्तर्गतका विधालयमा कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजा बनाएर खुवाइन्छ । विद्यालय खाजा कार्यक्रम प्रभावकारी भएकाले यसलाई पालिकाले थप गरेर खुवाएको छ । पालिकाले कार्यपालिकाबाट कार्यविधि बनाएर प्रतिविद्यार्थी २० रुपैयाँ खाजा उपलब्ध गराएपछि शिक्षाको गुणस्तरमासमेत सुधार आएको नगरँपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीको दाबी छ ।
पाल्पाको रम्भा गाउँपालिका अन्तर्गतका कक्षा ९ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजा बनाएर खुवाइन्छ । विद्यालय खाजा कार्यक्रम प्रभावकारी भएकाले यसलाई पालिकाले थप गरेरै भए पनि खुवाएको छ । पालिकाले कार्यपालिकाबाट कार्यविधि बनाएर प्रति विद्यार्थी २० रुपैयाँ खाजा उपलब्ध गराएको गाउँपालकाका प्रमुख बिष्णु प्रशाद भण्डारीले बताउनुभयो ।
निस्दी गाउँपालिकाले संघीय सरकारले कक्षा ५ सम्म प्रदान गरेको १५ रुपैयाँमा ५ रुपैयाँ थपेर कक्षा ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरेको छ । भौगोलिक विकटताका कारण बालबालिका नियमित विद्यालयमा नबस्ने, दिउँसोको खाजा छुट्टीमा घर जाने गर्दा पढाईको गुणस्तरमासमेत असर गरेपछि कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारुले बताउनुभयो ।
तिनाउ गा पा काले पनि संघीय सरकारले कक्षा ५ सम्म प्रदान गरेको १५ रुपैयाँमा ५ रुपैयाँ थप गरेर कक्षा ५ सम्म २० रुपैयाको दिवा खाजाको व्यवस्था गरेको गाउँपालिकाका उपप्रमुख लाल बहादुर थापाले जानकारी दिनुभयो ।
त्यस्तै ,रामपुर नगरपालिका ,बगनासकाली,माथागढि,रिब्दिकोट लगायतका पालिकाले भने लक्ष्यित समुदायको बहुल्यता भएका अवस्था हेरेर केही विद्यालयहरुमा मात्र माथिल्लो कक्षा सम्म दिवा खाजाको ब्यवस्था गरेको जनाएका छन ।
बिधालयमा खाजा पाएपछि विद्यार्थी पनि खुशी छन ।यसका साथै अभिभावकलाइ सहज भएको रामपुर आधारभुत बिद्यालयको कक्षा ३ मा पढ्ने छात्रा आचल पराजुलीले हरेक बार फरकफरक खाजा पाउँदा खान मिठो हुने र स्वस्थकर खाजाले पढाईपनि उत्साह थपेको बताउनुभयो ।
रामपुर आधारभुत बिद्यालयका प्र अ बिजय शमाले भने दिवा खाजा कक्षा ५ सम्म सबैलाई दिनुभन्दा बिपन्न विद्यार्थीलाई बिधालयको सिफारिसमा पालिकाले १० सम्म ब्यवस्था गर्नुपर्ने बताउनुहुन्छ।उहाँको स्कुलमा भने ५ बाट माथिका बिपन्न विद्यार्थीलाइ स्कुलले निशुल्क खाजा दिने ब्यवस्था गरेको बताउनुभयो ।
संघीय तथा स्थानीय तहको यो कार्यक्रम सुगम क्षेत्रमा भन्दा पनि विकट ठाँउका अभिभावक तथा विद्यार्थीमा निकै प्रवाभकारी देखिन्छ ।विद्यालयमै खाजा खुवाउने योजनाअनुसार कार्यपालिका र गाउँसभाबाट नै निर्णय गरेर विद्यार्थीलाई दैनिक फरक–फरक खाजा खुवाउने गरेका छन । पालिकाले विद्यालयमै खाजा खुवाउँदा शैक्षिक गुणस्तरमासमेत सुधार आएको छ ।
यति मात्र नभइ, दिवा खाजा कार्यक्रमले बालबालिकालाई सामुदायिक विद्यालयमा भित्र्याउने र टिकाउने काम समेत गरेको छ।













