१६ साउन पाल्पा,
पाल्पा तानसेन –विभिन्न प्रलोभनमा पारी सुनका गहना ठग्दै हिँड्ने चार जना पक्राउ परेका छन् । तानसेनका विभिन्न स्थानमा नक्कली सुनको जस्तो डल्लो देखाई सुनका गहना झिकेर लैजाने चार जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको हो ।
पाल्पा तिनाउ गाउँपालिका –३ झुम्साका ६३ वर्षीय चुरामणी गाहा मगर, रुपन्देहीको सैनामैना नगरपालिका –८ का ४२ वर्षीय गुञ्जबहादुर मगर, रुपन्देहीकै कञ्जन गाउँपालिका– १ का ३३ वर्षीय लक्ष्मण कुमाल र रुपन्देही ओमसतिया गाउँपालिका –५ का ५३ वर्षीय गिरी बहादुर थापा भुजेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।
गत चैत १८ मा तानसेन– ६ लहरेपिपलमा बगनासकाली गाउँपालिका– ९ चापपानीकी ६३ वर्षीया डोल कुमारी थापाले लगाएको १ तोला १२ लालको सुनको रिङ कुण्डल झिकेर उनीहरु भागेका थिए । यस्तै सो समूहले गत जेठ २७ मा तानसेन –३ प्रगतीनगर टोलमा रिब्दीकोट गाउँपालिका–७ की ५७ वर्षीया भुमी कुमारी गाहाले लगाएको १ तोलाको सुनको रिङ कुण्डल झिकेर भागेको थियो । गत वर्ष भदौ २६ मा तानसेन नगरपालिका –४ होलादी स्थित मनकामना होटेल नजिकै तिनाउ गाउँपालिका –५ भोक्तछापकी ५७ वर्षीया बमिसरा रानालाई नक्कली सुनको जस्तो डल्लो देखाई लगाएको १ तोला सुनको कुण्डल रिङ झिकेर भागेका थिए ।
निवेदकहरुको आधारमा प्रहरीले उनीहरुको खोजी कार्य जारी राख्दा सुन जस्तो देखिने पहेलो धातुसहित पक्राउ गरिएको हो । थप अनुसन्धान गरि कानूनी कारवाही गरिने प्रहरीले जनाएको छ ।













