बैशाख २४,पाल्पा
नेपाली काँग्रेस पाल्पाले जनसरोकारका विषयमा जिल्ला प्रशासन कार्यालयल पाल्पाको ध्यानाकर्षण गराएको छ । दैवी विपत्ति, मानव बस्तीमा आगलागी, बन जंगलमा डढेलो, वातावरणीय प्रदुषण तथा विभिन्न संघ संस्थाबाट सर्वसाधारण नागरिकहरुले खेप्नु परेका समस्याका समाधान साथै सार्वजनिक जग्गा तथा धार्मिक एवम् पुरातात्विक सम्पदाको संरक्षण गर्न प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
सोमबार जिल्ला सभापति हिमालदत्त श्रेष्ठको नेतृत्वमा खडेरीको मौसमका कारण विगत केही दिनदेखि पाल्पाका विभिन्न स्थानमा आगलागी, वनजंगलमा डढेलो, वातावण प्रदुषण बढ्दै गएको र यातायातको भाडादरमा अपारदर्शिता, पशुचौपायाको अवैध निकासी भएका विषयमा जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअ काफ्लेको ध्यानाकर्षण गराएका हुन् ।
लामो खडेरी र प्रचण्ड गर्मीका कारण आगलागीका घटना बढ्दै जाँदा जनजीवन अस्तव्यस्त हुनुको साथै ठूलो भौतिक क्षति व्यहोर्नु परेको प्रति नेपाली काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बन जंगल र मानव वस्तीमा सल्केको आगो नियन्त्रण बाहिर जाने अवस्थामा रहेकाले बेलैमा प्रभावकारी कदम नचालिए थप जनधनको क्षति हुनुको साथै पर्यावरणीय सन्तुलनमा समेत व्यापक असर पार्ने भएकाले त्यसतर्फ स्थानीय, प्रदेश, संघीय सरकार र राजनीतिक दलहरुसँग समन्वय गरी प्रकोप न्यूनिकरण र राहतका लागि यथाशीघ्र कदम चाल्न प्रजिअलाई आग्रह गरेको हो ।
काँग्रेसले देशभर सहकारी काण्डका घटनाहरु बाहिर आइरहेकाले पाल्पामा पनि त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले आवश्यक समन्वय र अनुगमन गर्न जिल्ला प्रशासन संग माग गरेको छ । नेपाली काँग्रेस जिल्ला सभापति श्रेष्ठद्वारा जारी ध्यानाकर्षण पत्रमा पाल्पा जिल्लामा सञ्चालित सहकारीको अवस्था के छ रु बचत र ऋण परिचालन सहकारीको मापदण्डअनुसार भएको छ कि छैन रु यस विषयमा कानुनको अधिनमा रही आवश्यक समन्वय र अनुगमनका निम्ति जोडदार माग गर्नुका साथै आमजनताले आफ्नो पसिना खर्च गरेर जम्मा गरेको बचत कुनै पनि हालतमा डुब्न नहुने भन्ने मान्यतामा नेपाली काँग्रेस आडिग रहेको उल्लेख गरिएको छ ।
जिल्लामा रहेका सार्वजनिक जग्गा र यहाँ रहेका ऐतिहासिक, सांस्कृतिक पुरातात्विक, धार्मिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धनमा समेत ध्यान दिनुुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । प्रजिअ काफ्लेले ध्यानाकर्षण पत्र बुझ्दै काँग्रेसले ध्यानाकर्षण गराएका जनसरोकारका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।














