पाल्पा – जिल्लाको तिनाउ गाउँपालिका–४ को सत्यवती तालको धार्मिक मेलामा १८ लाख ५० हजार ३ सय ३१ रुपैयाँ संकलन भएको छ । मंसिर ७ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको मेलामा भेटी र सहयोग बापत उक्त रकम संकलन भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
आर्थिक पारदर्शिताका लागि मेला सकिएको भोली पल्ट मंगलबार नै समिति, गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको उपस्थितिमा आम्दानीको हिसाब गरिएको उहाँले बताउनुभयो । विगतका वर्षमा सञ्चालन भएको मेलामा आर्थिक विषयमा गाउँपालिकामा आएको गुनासोका आधारमा अहिले कार्यपालिकाको बैठकबाट निर्णय भएअनुसार आम्दानी खर्चको हिसाब गाउँपालिकाको प्रत्यक्ष सहभागितामा गरिएको उहाँले बताउनुभयो ।
मेलाको आम्दानीको हिसाब भएपनि खर्च विवरण संकलन भैरहेकोले आम्दानी र खर्चको हिसाब गरेर समीक्षा बैठक गरिने सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दान बहादुर गाहाले बताउनुभयो ।
कात्तिक महिनामा बाला चतुर्दशी र पूर्णिमा पर्ने वर्ष मात्र सत्यवती बज्यैको दर्शन गर्ने जोग पर्ने भएकोले दर्शनार्थी पुग्ने गरेपनि अहिले बाह्रै महिना दर्शनार्थीहरु सत्यवती तालमा दर्शनका लागि पुग्ने गरेका छन । सत्यवती तालमा पुगेपछि बाँसको लिंगो गाडने र राती पूजा गर्दा त्यही लिंगो चिनेर पूजा गरी चिच्याउँदै तालको परिक्रममा गरेर वर माग्ने गरिन्छ । यो वर्ष जोग नपरेको भएपनि अनुमानित एक लाख ५० हजार भक्तजन तालमा पुगेको आयोजकको दाबी गरेको छ ।