पाल्पा-तिहार मनाउन घर जानेहरुको आज बिहानैदेखि चहलपहल बढेको छ । जिल्लाको सदरमुकाम तानसेनकाे बसपार्क,टुडिखेल चोक, नारायणस्थान चोक,विशाल बजार,बर्तुङ्ग लगायतका स्थानमा आज बिहानैदेखि जन्मथलो फर्कनेहरुको भिडभाड थियो ।
धेरैजसो शिक्षण संस्थाहरु दसैँदेखि तिहार सम्म नै बन्द भएकाले दसैँअघि घर गएका विद्यार्थीहरु अझैं तानसेन फर्केकै छैनन् । तर विभिन्न कामको सिलसिलामा सदरमुकाम तानसेनमा बस्दै आएकाहरु तिहार मनाउन घर जाने भएपछि बिहानैदेखि चहलपहल बढेको हो ।
यात्रुहरु घर जान निस्किएपछि सदरमुकामका सडकमा सार्वजनिक यातायातका साधनहरु पनि तुलनात्मक रुपले आज बिहान बढी चलेका देखिन्थे । हिजो देखि नै घर जानेहरुको संख्या बढेको थियो । आज आईतवार देखि तिहारको बिदा परेको छ ।
यसैगरी आगामी शुक्रबार एकदिन बाहेक मंसिर २ गते सम्म सार्वजनिक बिदा परेको छ । मंसिर ३ गतेदेखि मात्र नियमित रुपमा कार्यालयहरु खुल्ने भएपछि यसपटक घर जानेहरुलाई पनि लामो छुट्टी मिलेको छ ।













