पाल्पा तानसेन नगरपालिकाले पोखरा पुगेर कार्यपालिका बैठक पोखरामा बसेपछि आलोचना भएको छ ।तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठका अनुसार वार्षिक समीक्षा गर्न पोखरा पुगेको अवसर पारी उतै कार्यपालिका बैठक सम्पन्न गरिएको हो । वर्षभरीमा गरेका कामको समीक्षा गर्न मेयर श्रेष्ठसहित उपप्रमुख प्रतिक्षा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, वडाका अध्यक्षहरु तथा कार्यपालिका सदस्यको टोली विहिबार पोखरा पुगेको हो ।
एसिया फाउण्डेशनको आर्थिक सहयोगमा पोखरा पुगेर बसेको कार्यपालिका बैठकले विभिन्न ९ वटा निर्णय गरेको मेयर श्रेष्ठले जानकारी दिए । तानसेनमै समीक्षा कार्यक्रमको आयोजना गर्दा जनप्रतिनिधि तथा कर्मचारीहरुले समय दिन नसक्ने भएपछि पोखरा पुग्नुपरेको उनले बताए । शुक्रबार दिनभरी पनि वार्षिक समीक्षामा सहभागी भएर तानसेन फर्किने उनले जानकारी दिए ।













