
पाल्पा- अरू दिनको तुलनामा चाडपर्वकोे समयमा बजारमा भिडभाड र चहलपहल बढ्नु स्वाभाविक कुरा हो । तर, भिडभाड र चहलपहल बढ्ने बेलामा सडकमै व्यापार गर्नु र सर्वसाधारणलाई बजार आवतजावतमा समस्या खडा गर्नु कदापि उचित होइन । कुनै पनि बहानामा सडक अतिक्रमण गर्न नहुने कानुनी मान्यता भए पनि पाल्पाको सदरमुकाम तानसेनकाे बैंक राेड, शित्तलपाटी,नारायणथान,विशाल बजारमा चाडपर्वको नाममा सडकमै व्यापार गर्ने क्रम बढेको छ ।
हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसगैँ सडक पेटीमा तिहारका सामाग्री राखेर पसल थापेपछि आवतजावत गर्न समस्या भएको नगरबासीहरूले गुनासो गरेका छन् । गाउँबाट तिहारका लागि सामान किन्न आएकाे बताउदै तिहारकाे सामाग्री राखी व्यापारीहरूले सडक नै अवरुद्ध गरी व्यापार व्यवसाय सञ्चालन गरेका कारण सर्वसाधारणलाई बजारमा आवतजावत गर्न समस्या भएको सुरज विश्वकर्माले जानकारी दिनुभयो ।
बजारमा भिड छ, बाटो पूरै जाम भएको छ बगनासकालीबाट किनमेल गर्न आउनुभएका श्रीधर मगरले जानकारी दिनुभयो । किनमेल गर्न जाँदा बाटो नै बन्द हुने गरी पसल थापेका कारण समस्या भएको उहाँले बताउनुभयो । मगरले भन्नुभयो, ‘ तिहार नजिकिँदै गर्दा बजार भिडभाड भएकाे छ तर सडक पेटिमा राखिएको समानकाे कुनै व्यवस्थापन गरिएको छैन, मन परी पसलेहरूले बाटोमै व्यापार व्यवसाय सुरु गरेका छन् ।’ तानसेनका बैंक राेड,शित्तलपाटि, विशाल बजारलगायत भित्री सडकमा तिहारका व्यापार गरेपछि मानिसहरूलाई आवतजावत गर्न समस्या भएको हो ।
यसरी पर्वको नाउँमा सडकमै व्यापार गर्नेक्रम बढेसँगै आमनागरिकहरूले सास्ती खेप्नु परेको छ । नगरपालिकाले खुद्रा व्यापारीहरूलाई व्यवस्थापन गर्ने तर्फ समयमै ध्यान दिन जरुरी छ ।