पाल्पा- लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता पाल्पा तानसेनमा सम्पन्न भएकाे छ । लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा पुरुष तर्फ पाल्पाका विरेन्द्र बुढा र महिला तर्फ गुल्मीकी सविना श्रेष्ठ प्रथम भएका छन् । शुक्रवार र शनिवार तानसेन टुडिखेल मैदानमा संचालन भएको रिता अनिल स्मृती दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा बिरेन्द्र र सविना प्रथम भई गोल्ड मेडल सहित तिस/तिस हजार नगद, मेडल र प्रमाण पत्र हात पारेका हुन् । प्रतियोगितामा पुरुष तर्फ रोल्पाका तिलक बुढामगर र महिला तर्फ वसन्ती विश्वकर्मा नवलपरासी द्धितिय भएका छन् । विजेता दुवै जनाले विस/विस हजार नगद, रजत पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा पुरुष तर्फ पाल्पाका उज्जवल गहतराज र महिला तर्फ बर्दियाकी ललिता बुढाथोकी तृतिय भएका छन ।
दुबैले दश /दश हजार नगद, कास्य पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला र आयोजक टोली गरी ६४ जना खेलाडीहरु सहभागी भएका थिए । प्रतियोगिता महिला तर्फ ४६ केजी देखी ५२ केजी सम्म र पुरुषमा ४९ केजी देखी ५५ केजीको एकल स्पारिङ्गमा प्रतिष्प्रर्धा भएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य खेम बहादुर सारुले तेक्वान्दो खेल, आत्मरक्षाको लागी रक्षाकवज, व्यक्ति अनुशासनको कडी, देशलाई चिनाउने महत्वपुर्ण खेल भएको बताउनुभयो । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा तेक्वान्दो खेललाई व्यबसायिक बनाउदै अगाडी बढाउन नितिगत रुपमा पहल गर्ने प्रदेश सांसद सारुले जोड दिनुभयो ।
समापन कार्यक्रममा बिशिष्ट अतिथि लुम्विनी प्रदेश खेलकुद विकास समितीका सदस्य सचिव जयप्रकास भट्टराई, पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, आइटिएफ तेक्वान्दो महासंघका केन्द्रिय कोषाध्यक्ष विक्रम बाठा मगर, तेक्वाण्डो महासंघ, लुम्बिनी प्रदेशका सचिव रितमान कामु, नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्याल लगाएतले प्रतियोगिताले पाल्पालाई खेलकुद पर्यटनको विकासमा टेवा पुग्नेमा जोड दिनुभयो ।
नेपाल आईटिएफ तेक्वान्दो महासंघ पाल्पा अध्यक्ष निर बहादुर सारुले आगामी दिनमा पनि जिल्ला, क्षेत्र र राष्ट्रिय स्तरको प्रतियोगिता गर्न तयार रहेको तर सवैपक्ष र क्षेत्र बाट साथ र सहयोग हुनुपर्नेमा जोड दिनुभयो । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाका अध्यक्ष निर बहादुर सारुको अध्यक्षता, उपाध्यक्ष कृष्ण थापाको स्वागत , सचिव नगेन्द्र मल्लको संचालन र पूर्ब खेलाडी आयुसा कार्कीको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको हो । शुक्रवार पाल्पा क्षेत्र नम्बर २ का संघिय सभा सदस्य ठाकुर गैरेले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
तेक्वाण्डोका पुर्ब खेलाडी आयुसा कार्कीले आफ्ना स्वर्गिय बुवा अनिल र आमा रिताको संझनामा आयोजित प्रतियोगितामा पुरस्कार सौजन्य गर्नुभएको प्रतियोगिताका खेल संयोजक देब थापा क्षेत्रीले जानकारी दिनुभयो ।
पाल्पामा आईटिएफका एक हजार भन्दा बढी खेलाडी, एकसय भन्दा बढी प्रशिक्षक रहेका छन । १४ वटा डोजाङ्ग बाट आईटिएफको प्रशिक्षण कार्यक्रम भईरहेको पाल्पा आईटिएफले जनाएको छ ।













