पाल्पा –माथागढी गाउँपालिकाले बाबुआमा नभएका अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी लिएको छ। विभिन्न कारणले बाबुआमा गुमाएका बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिएको हो ।
पालिकाभित्र ४१ जना बालबालिका अभिभावकविहीन छन्। उनीहरूको दैनिक पठनपाठनमा हुने खर्चको जिम्मेवारी पालिकाले लिएको हो। विदेश गएर बाबुको मृत्यु भएको, आमाले हेरचाह नगरेको, बाबुआमाले अन्तै विवाह गरेर टुहुरा बनेका बालबालिकाको शैक्षिक जिम्मेवारी पालिकाले लिएको जनाएको छ ।
माथागढी गाउँपालिकाले बाबुआमा नभएका बालबालिकाको शैक्षिक सामग्री, कापी, कलम तथा पोसाक, झोला, जुत्तालगातयका शैक्षिक सामग्रीको जिम्मेवारी लिएको हो। अभिभावकविहीन बालबालिकाको पोसाक तथा शैक्षिक सामग्रीका लागि पालिकाले वार्षिक १० हजार रुपियाँ खर्च गरेको पालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । आमाबाबु दुवै नभएका बालबालिकाका लागि आवश्यक पोसाक र शैक्षिक सामग्री खरिद गर्न प्रतिविद्यार्थी वार्षिक १० हजार रुपियाँ खर्च गरेको पालिकाका अध्यक्ष चिदीले बताउनुभयो। उहाँले गत स्थानीय तहको निर्वाचनमा आफूलगायतका जनप्रतिनिधिहरू निर्वाचित भएपछि पहिलो पटक गरेको निर्णय कार्यान्वयन भएको बताउनुभयो ।
बाबुको मृत्यु र विदेशमा हराउने प्रवृत्तिले आमाले पहिलेको सन्तानलाई छाडेर अन्तै विवाह गर्ने प्रचलन बढ्दा बालबालिका अभिभावकविहीन हुने क्रम बढेको छ । यस्तै सामाजिक सञ्जालका कारण कम उमेरमै विवाह हुने र अन्त विवाह हुने समस्याले पनि बालबालिका अभिभावकविहीन बनेको पालिकाका प्रवक्ता शङ्कर दर्लामीले बताउनुभयो ।
अभिभावकविहीन बालबालिकालाई वडा कार्यालय र विद्यालयको सिफारिसमा सहयोग गरिएको माथागढी गाउँपालिकाले शिक्षा शाखा प्रमुख प्रेम बाह्रघरेले बताउनुभयो। वडा र विद्यालयको समन्वयमा अभिभावक नभएका बालबालिकालाई बाल कक्षादेखि कक्षा १२ सम्मको अध्ययनका लागि सहयोग गरिएको उहाँले बताउनुभयो ।













