बुटवल, ८ असोज । कसौधन सेवा समिति रुपन्देही बुटवलको नवनिर्मित भवनको उद्घाटन, आठौं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सोमबार सम्पन्न भएको छ ।
सेवा समितिका सदस्यहरुबाट संकलन गरिएको रकमबाट निर्माण गरिएको भवनको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले सबै धर्म संस्कृती र भाषभाषीका अधिकारलाई सम्बोधन गर्न नगरपालिका सदैव सकारात्मक रहेको बताउनुभयो । उहाँले नगरको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्दै कसौधन सेवा समितिको भवन निर्माणका लागि अहिले केही सहयोग उपलब्ध गराएको र आगामी दिनमा भवनको तल्ला थप्ने कार्यमा पनि थप सहयोग गर्ने आश्वासन दिनुभयो ।
सेवा समितिका अध्यक्ष राधेश्याम कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल वडानम्बर ५ का वडाध्यक्ष हरिप्रसाद श्रेष्ठ, सेवा समितिका संस्थापक अध्यक्ष जवाहरलाल कसौधन, समितिका संरक्षक अशोक कुमार कसौधन, महिला समितिका संस्थापक अध्यक्ष पुष्पा कसौधन, पुर्व अध्यक्ष सिता कसौधन, महिला समितिका अध्यक्ष निशा कसौधन, युवा समितिका अध्यक्ष अनिस कसौधन, पुर्व अध्यक्ष धर्मेन्द्र कसौधन लगायतले नयाँ भवन निर्माणले कसौधन समितिका सदस्यहरुलाई धेरैनै खुशी दिएको बताउनुभयो ।
कसौधन सेवा समितिले आफ्नै पहलमा खरिद गरेको जग्गामा अहिले ३३ लाखबढी रकममा भवन निर्माण गरेको सेवा समितिका उपाध्यक्ष सन्दिप कसौधनले जानकारी दिनुभयो । एक हल सहितको कार्यालय भवन निर्माणका लागि कसौधन सेवा समिति, महिला समिति र युवा समितिका सदस्यहरुबाट आर्थिक सहयोग जुटेको उहाँले बताउनुभयो । भवन निर्माणका लागि तीन लाख रुपैया नगरपालिकाले सहयोग गरेको समेत बताउनुभयो ।
यसैबीच सोमबारनै भएको छैठौं अधिवेशनले सर्वसम्मतिको प्रयास गरेको महासचिव महादेव कसौधनले जानकारी दिनुभयो । सोही कार्यक्रमको अवसर पारेर समितिका पुर्व अध्यक्षलाई सम्मान तथा बुटवल एकमा रहेको सरस्वती आधारभुत विद्यालयका पाँच जना विद्यार्थीहरुलाई महिला समितिले प्रति विद्यार्थी पाँच÷पाँच हजारका दरले छात्रवृति प्रदान गरेको छ ।
स्कुले ब्याग, जुत्ता, कापि कलम लगायतका शैक्षिक सामग्री ति विद्यार्थीहरुलाई प्रदान गरिएको महिला समितिका महासचिव आशा कसौधनले जानकारी दिनुभयो । पाँच कक्षासम्म अध्ययन गरेका ति विद्यार्थीहरुलाई कक्षा १० सम्म पढाउने गरि सुरुमा शैक्षिक सामग्री प्रदान गरिएको हो । समितिले विद्यालयलाई फोरलाईन बाईट बोर्ड समेत सहयोग गरेको छ ।













