पाल्पा – केही वर्ष अघिसम्म परम्परागत रूपमा बाख्रापालन गरिरहेका किसानले व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेका छन् ।लुम्विनी प्रदेश सरकारको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट जिल्लाको पूर्वखोला–२, जल्पा मैदानका किसानलाई बाख्रापालन व्यावसायिक बनाउन सहयोग पुगेको हो ।
पहिले घरमै १०/१२ वटा बाख्रा पाल्ने मैदानका हुमबहादुर हिस्कीको खोरमा अहिले ४१ वटा बाख्रा छन् । उहाँले भन्नुभयो, ‘पहिले घरमै पूजा तथा चाडपर्वमा मासुका लागि प्रयोग हुने बाख्रा पालेको थिए, अहिले मेरो खोरमा माउ बाख्रा मात्रै २० वटा छन् ।’ माउ, बोका, खसी, पाठापाठी गरेर अहिले ४० बढी बाख्रा छन् । बाख्राको सङ्ख्या बढेपछि बाहिर समूहमा बिक्री गरेर आम्दानी पनि बढेको उहाँले बताउनुभयो । हिस्की मात्र होइन मैदानका ५० घरधुरी अहिले व्यावसायिक बाख्रा पालनमा लागेका छन् । उनीहरूको घरमा अहिले न्युनतम १० वटा माउ बाख्रासहित खसी, बोका, पाठापाठी हुर्किएका छन् । समूहमा पाएको तालिम, सल्लाह र सुझावका आधारमा खोर परिवर्तन गरेपछि अहिले खरी जातको बाख्रा हटाएर उन्नत जातको बाख्रा पालन गरेको स्थानीय ललीसरा ठाडाले बताउनुभयो ।
लुम्विनी प्रदेश सरकारले तीन वर्षअघिदेखि सुरु गरेको स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत यहाँका किसानले पालेका बाख्राको नस्ल सुधार, पशुआहारमा सुधार, घाँस तथा औषधिउपचारमा सहजता आएको छ । यस्तै बाख्राको खोर सुधार तथा बाख्रा पालन गर्ने किसानको सामूहिकतामा सुधार आएको भेटेरीनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो ।
प्रदेश सरकारले स्मार्ट कृषि गाउँ स्थापनाका लागि यहाँको कृषक समूहलाई पहिलो वर्ष ३० लाख, दोस्रो वर्ष २० लाख र यो वर्ष २१ लाख उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । स्मार्ट कृषि कार्यक्रमले गरिवी निवारण, पशु तथा कृषि क्षेत्रमा व्यवसायिकता, उत्पादनमा बृद्धि गर्न सहयोग पुगेको प्रदेश सभा सदस्य खेमबहादुर सारूले जानकारी दिनुभयाे । उहाँले जनताकाे जीवनस्तर सुधार गर्न प्रदेश सरकारले यस्ता कार्यक्रमलाइ प्राथमिकता दिएकाे बताउनुभयाे ।













