विष्णु घर्ती 'भनभनेली'
पृष्ठभूमिः
नेपालको सामाजिक लोक जीवनमा विभिन्न खालका पहिचानहरू स्थापित हुँदै आएका छन् । लोक सुहाउँदो संस्कार र संस्कृतिको सङ्गम भएका परिदृष्य हाम्रा सामु प्रसस्तै छन् । ऐतिहासिक तथा सांस्कृतिक जीवनका प्रत्येक कालखण्डहरूमा मानवलाई साथ दिने भनेकै सम्बन्धित् स्थानको लोक संस्कार, संस्कृति र स्थानीय परम्पराले हो । हाम्रा प्रथाजन्य संस्कारहरूमा आँञ्चलिकता भए तापनि क्रमशः अन्य स्थानहरूमा समेत स्वीकार्य भई फैलिएर रहेको पाइन्छ । वडादशैंलाई विजयादशमीका रूपमा पनि मानिदै आएको छ । पन्ध्र दिनसम्म मनाइने यस महानपर्वमा विभिन्न खालका पुजा, आराधना एवम् विजय प्राप्ति सम्बन्धी मेला वा प्रदर्शनी गर्ने क्रममा ७ दिनसम्म स्थान विशेष अनुसार सरायँको आयोजना गरिन्छ । वर्ष दिनमा मनाइने यस महान पर्वमा दुर्गा मन्दिर, कोट, शक्तिपीठ तथा घरघरहरूमा नवदुर्गाको उपासना, आराधना, पञ्चवली चढाउने, मान्यजनबाट टिकाप्रसाद ग्रहण गर्ने, सरायँ लगाउने आदि मूख्य अभिन्न अङ्गका रूपमा अँगालिएको हुन्छ । त्यसैले लुम्बिनीका देहायका क्षेत्रहरूमा सरायँविनाको दशैं अधुरो र अपुरो रहन्छ ।
सरायँः
नेपाली लोकसंस्कृतिको विशिष्ट पहिचानमध्ये एक महत्त्वपूर्ण संस्कृतिक धरोहर सरायँ हो । “विशेष पर्वका दिन मन्दिरभित्रका खुकुरी, तरवार, खुँडा, खड्ग र लठ्ठी आदि हतियार हातमा लिएर नचाउँदै, घुमाउदै एक आपसमा ठोक्काउँदै बाजाका तालमा नाच्दै देखाइने अर्घाखाँचीभेगका जिल्लाको एक प्रसिद्ध जात्रा” हो भनेर नेपाली बृहत् शब्दकोशले उल्लेख गरेको छ । नृत्यकलाको विषय अन्तरगत सरायँ पनि एक महत्त्वपूर्ण नाँच हो भनिएको छ । यसको प्रचलन विशेष गरी अर्घाखाँची, गुल्मी, पूर्वी प्यूठान र पश्चिम पाल्पाका क्षेत्रमा बढी प्रचलनमा रहेको अवस्था छ । साथै यिनै स्थानबाट बसाइसराई गरी वा नगरी शहरी क्षेत्रमा रहेका संस्कृतिप्रेमी महानुभावहरूको विशेष सक्रियतामा रुपन्देही (बुटवल), कपिलवस्तु र काठमाडौजस्ता स्थानमा प्रत्येक वर्ष सरायँ लगाइदै आएको छ । यो एक पर्व विशेष नाँच हो । ऐतिहासिक युद्धको विजयपश्चात युद्धपोत सामग्रीको कलात्मक रूपमा प्रस्तुत गरिने नाँच नै सरायँ हो । बडादशैंका शुअवसरमा नवमी तथा जमरा र टिका ग्रहण गरेपछि कोजाग्रत पूर्णिमासम्म विभिन्न शक्तिपीठहरू (कोटघर) वा ऐतिहासिक गढी तथा किल्लाहरूका अग्रस्थलमा भेला भई हात हतियार तथा ढालहरू प्रदर्शन गरिन्छ । एक आपसमा बडो हर्षोल्लासका साथमा हातहतियार ठोक्काउँदै गोलो घेरामा नौमती बाजाको तालमा नाँचिन्छ । नेपाली सेनाले यसलाई अझ व्यवस्थित रूपमा प्रस्तुत गर्ने गरेको पनि पाइन्छ ।
सदिऔं पहिलेदेखि सरायँको शुरुवात अर्घाकोट र खाँचीकोटबाट भएको पाइन्छ । वि.सं. १८१४ मा जितगढी किल्ला (बुटवल) मा नुवाकोट गढी (पाल्पा) बाट कर्णेल उजिरसिंह थापाको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेजी सेनालाई हराएपश्चात त्यसबेलाका तरवार, खुडा, खुकुरी, भाला, ढाललगायतका युद्ध सामग्रीसहित नाँचगान गरेका थिए । त्यस नेपाल अंग्रेज युद्धमा हासिल गरेको विजयपश्चातको उत्सवमा लडाकुहरूले 'सर (जित) गरी आएँ' भनेकाले सरायँ भएको बताइन्छ भने कतै बाइसी चौबिसी राज्यको एकीकरणका क्रममा साह्रो गाह्रो व्यहोर्दै जित्नेले खुशीयालीमा हतियारसँगै नाँचगान गर्दै अगाडि बढेको हुनाले सरायँको रूपमा स्थापित हुँदै आएको हो पनि भनिएको पाइन्छ । धेरै वर्ष पहिलेदेखि नै गुल्मीमा धुर्कोट, अर्जै, पुर्कोट, धागिथुम, मसिकोट, इस्मा, पौदी, चोयगालगायतका स्थानको सरायँ चर्चित छन् । गुल्मीका ५० भन्दा बढी ठाउँमा सरायँ लागेको पाइन्छ । भनभनेको रोल्ममा वि.सं. १९७१ देखि नै सरायँ लाग्दै आएको छ । अर्घाखाँचीमा अर्घा, रागामारे, खाँचीकोट, चौडिला, अर्घातोषलगायतको सरायँ भव्य र निकै चर्चित रहेका छन् । पाल्पामा मुझुङ्, कोट्बासपानी, लिपिन्देवी, भारकोट, ख्याहालगायतका स्थानमा लाग्दै आएको पाइन्छ । प्यूठानको विजुवार नजिकै डल्ले भन्ने स्थानमा लाग्ने सरायँ डल्ले सरायँको नाममा ख्याती पाएको छ भने गढीकोट, रजवारा, बाङ्गे, मच्छी, तुसाराकोट, पौवा, बाहाने, मार्के, सेउलीवाङ, खर्वाङलगायतका स्थानहरूमा पनि लाग्दै आएको छ । त्यसैगरी छिमेकी जिल्ला बाग्लुङ्गको गुल्मीको सिमाना क्षेत्रहरू र कपिलवस्तुको पत्थरकोटलगायतका स्थानमा समेत सरायँ लाग्दै आएको अवस्था छ । यसले राष्ट्रियस्तरमा पनि महत्त्वपूर्ण स्थान लिदै आएको देखिन्छ । यस खालको सरायँ बुटवलको देवीनगरमा २०६६ र जितगढीमा २०७० सालदेखि लाग्दै आएको छ भने नयाँगाउँमा समेत लाग्ने गरेको छ । साथै बेलामौकामा काठमाडौंमा पनि सरायँ लाग्ने गरेको देखिन्छ । त्यस्तै देशका विभिन्न स्थानहरूमा अन्य समयमा पनि थोरै समूहमा फरक फरक नाममा हतियार प्रदर्शन गर्ने नाँच वा खेलहरू स्थानीय संस्कार संस्कृतिका नाममा आयोजना गर्दै आएको समेत बुझिन्छ ।
छिमले खेल्ने
कोटघरमा रहेका सबै प्रकारका हातहतियारहरू निकालेपछि सरायँ शुरु हुनुभन्दा पहिले छिमले खेल्ने गरिन्छ । छिमले छोटो समयको हुन्छ र यसमा थोरै मान्छे भए पनि पुग्दछ । यसमा एक प्रकारको युद्ध कला प्रदर्शन गरिन्छ । छिमलेमा दुई समुह भई आमने सामने भएर बाजाको तालमा हो... हो... हो... भन्दै हातहतियारलाई उचाल्दै र घुमाउँदै पाँच वा सात पटकसम्म ओहोरदोर वा वारपार गरिन्छ ।
तुरी खेल्ने
अहिलेको दोहोरी खेलैझै हो तुरी खेल । एउटा समूह एकापट्टी र अर्को समूह अर्कोपट्टी उभिएर रहन्छन् । तुरी खेल्दा सरायँ लाग्ने क्षेत्रमा यस वर्षभर भएका दुःखसुखका कुरा संक्षिप्त रुपमा गरिन्छ । एउटा समूहको एक जनाले ठूलो स्वरमा यो साल सरायँ त खेलिदैछ तर यस (कुनै स्थान नाम) ठाउँमा ठूलै विपत्ती (यस वर्षको कुनै उल्लेख्य घटना) पर्यो भनेपछि झ्याम् झ्याम् बाजा बज्दछन् । अर्को समूहको एक जनाले ठूलो स्वरमा त्यसैको जवाफ स्वरूप त्यो त हो राजै तर त्यो भन्दा नि अझ नराम्रो कुरा यस्तो (यस वर्षको अर्को कुनै उल्लेख्य घटना) पो भएछ भनेपछि झ्याम् झ्याम् बाजा बज्दछन् । यस्तै क्रम अन्य व्याख्यामा ५ वा ७ पटक दोहोरिएपछि जे भए पनि यो सरायँले हामी सबैलाई राम्रो गर्नेछ । सबैको भलो होस् भन्ने आशय दुबैतर्फबाट आएपछि एक अर्को समूह एकै समूह भई बाजाको तालसँगै तुरी खेल सकिन्छ र गोलो घेरामा नाच्ने सरायँ शुरु हुन्छ ।
गोलो घेरामा नाँच्ने
पश्चिमतिर प्रचलित देउडाजस्तो मानिए पनि धेरै फरक छ सरायँ । गोलो घेराको नाँच घण्टौसम्म चल्दछ । यसमा ढिलोगरी नाँचिन्छ । द्वन्द्वकालभन्दा पहिले रातैभर र सक्कली हतियारसहित नाँच्ने गरिन्थ्यो । गोलो घेरामा नाँच्नका लागि दुई दुई जना जरुरी हुन्छ र नाच्ने ठाउँ अनुसार जति जना पनि नाँच्न मिल्दछ । एक पटक दुई जना आमने सामने हुन्छन् भने अर्को पटक हुँदैनन् अर्थात एक जना एउटासँग एक पटक अगाडि र एक पटक पछाडि हुनु पर्दछ । आमने सामने हुनेले आफ्ना हतियार र रुमाल वा खाली भएका दुबै हात अर्कोको दुबै हातसँग जोडाउँदै, केही झुक्दै, नजिकिएर भट्ट्याउने भए दुबैले एकै स्वरमा भट्ट्याएर हो...ओ वा वाख्यै... भन्दै दुबै हात माथी उठाउँदै दायाँबाट घुमेर केही सर्दै अर्को जनातर्फ फर्किनु पर्दछ । यो क्रम भइरहन्छ र गोलो घेराको सरायँ बन्दछ । यसमा नाँच्ने वा खेल्ने सबैका हात गोडाका चालहरू बाजाको तालमै चल्दछन् । नौमती बजाउनेहरू पनि मालश्री धुनका साथ गोलो घेरामै उसैगरी सर्दै जान्छन् ।
भट्याउने
यस सरायँमा भट्ट्याउने पनि गरिन्छ । यसलाई कतै सरायँ गीत पनि भनिन्छ । यो एक महत्त्वपूर्ण तथा ऐतिहासिक लोक सिर्जना हो । यस नाँचमा सबैले भन्दा पनि केही पाका मान्छेले भट्ट्याउने गर्दछन् । यसले सरायँमा रौनकता ल्याउँछ । यस क्रममा युद्धकालीन विजय उत्सवको गाथा, दुर्गामाताको महिमा, प्रकृतिको वर्णन आदि गरिन्छ । जस्तैः ढिलो स्वरमा नौदुर्गा देवी हो...ओ... वा वाख्यै... , रक्षा गर हो...ओ... वा वाख्यै... , दशैंको बेला हो...ओ... वा वाख्यै... , खेल भाई हो हो...ओ... वा वाख्यै... , बाँचे आइसल हो...ओ... वा वाख्यै... आदि भन्दै परिक्रमा गर्ने गरिन्छ ।
पट्टा खेल्ने
कतै सरायँको विचमा त कतै अन्त्यतिर पट्टा खेल्ने गरिन्छ । गोलो घेरामा सरायँ नाचिरहदा वा खेलिरहदा लामो समय हुनाले दर्शकको ध्यानाकर्षण गर्न वा सरायँ नाच्नेलाई विश्राम दिन वा पट्टा खेल्नेको कौशल देखाउन विचैमा यसो गरिन्छ । पट्टा खेल खासमा एक जनाले खेल्ने हो । आजकल दुई जनाले पनि खेल्ने गरेको पाइन्छ । बाजाको तालमा एक जनाले एउटा वा दुई वटा तरवार वा कुनै हतियार वा ढाललाई कलात्मक तरिकाले नचाँउने गर्दछन् । यसो गर्दा आफ्ना दुई हतियार एक आपसमा ठोक्किनु हुँदैन । हातबाट फुस्किनु पनि हुँदैन । यसो भयो भने अनिष्ठ हुन्छ भन्ने मान्यता रहिआएको छ । महाभारतमा अर्जुन पुत्र अभिमन्यूले चक्रव्यूह तोड्नका लागि हतियार फन्नाउदै गरेको एकल साहसिक कार्यको दृष्टान्तका रूपमा पट्टा खेल्ने गरिएको हो भन्ने भनाई पनि रहेको छ । त्यसैगरी कतै सरायँको अन्त्यमा पट्टा खेलेर फुलपाती सेलाएपछि यस सालको सरायँ विसर्जन गरिन्छ ।
अन्त्यमाः
ऐतिहासिक एवम् सामाजिक मूल्यमान्यतामा आधारित परम्परा, चालचलन, संस्कार र संस्कृतिलाई बुझ्दै अर्को पुस्तालाई हस्तान्तरण गर्ने कार्यमा संलग्न हुनुपर्ने अवस्था आएको छ । यस बारेमा अझ गहिरो गरी विस्तृत रूपमा अध्ययन अनुसन्धान हुन बाँकी नै छ । यहाँ केवल सुत्रात्मक शैलीमा केही पक्षहरू संक्षिप्तमा उल्लेख गरिएको छ । सरायँको सन्दर्भलाई सकेसम्म सबैतिर फैलाउँदै जाऔँ । यसैमा सबैको सुन्दर, सुशिल र शानयुक्त पहिचानको अस्तित्त्व र भविष्य समेत अन्तर्निहित रहन्छ । त्यसैले वडादशैंको अभिन्न अङ्गका रूपमा स्वीकारिएको सरायँको सही संरक्षण र सम्वर्धन गर्नु नै हामी सबैको पहिचानलाई स्थापित गर्नु हो ।














