बगनासकाली।
पाल्पा बगनासकाली गाउँपालिका–८, बराङ्दी घिउसीबास स्थित सिद्धबाबा मन्दिरमा आगामी माघ १ गतेदेखि ९ गतेसम्म श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजनाको तयारी तीव्र गरिएको छ। महायज्ञका लागि मन्दिर परिसरलाई सजावट र रंगरोगन गर्ने कार्यहरू अन्तिम चरणमा पुगेका छन्। साथै, आवश्यक सामग्री र उपकरणहरूको व्यवस्थापनसमेत गरिनुका साथै वातावरणलाई आकर्षक बनाउन कार्य भइरहेको आयोजकले जनाएको छ।
महायज्ञको आयोजना सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिको नेतृत्वमा भइरहेको छ। समितिका अध्यक्ष मोहन अर्यालका अनुसार, महायज्ञको मुख्य उद्देश्य धार्मिक र सांस्कृतिक चेतना जागरण गर्नुका साथै स्थानीय समुदायको समग्र विकासमा योगदान पुर्याउनु हो।
अध्यक्ष अर्यालले यस महायज्ञको माध्यमबाट सिद्धबाबा मन्दिरको विकास र संरक्षणको लागि आर्थिक स्रोत जुटाउने विश्वास व्यक्त गरे। उनका अनुसार, महायज्ञको आम्दानीले मन्दिरको संरक्षण र विकासका लागि प्रयोग हुने साथै, धार्मिक पर्यटकहरूको आकर्षणलाई थप बढाउने मौका प्राप्त हुनेछ।
महायज्ञको समयमा, धार्मिक कथा वाचन, प्रवचन, भजन, कीर्तन, सांस्कृतिक कार्यक्रमहरू र सामूहिक हवन जस्ता विभिन्न धार्मिक र सांस्कृतिक क्रियाकलापहरू हुनेछन्। महायज्ञ आयोजक समितिका सचिव सुशिल बस्याल " राष्ट्रप्रेमी" का अनुसार, महायज्ञको समापनसम्म विविध धार्मिक र सांस्कृतिक क्रियाकलापहरू सञ्चालन हुनेछन्, जसले समुदायलाई एकजुट पार्दै, धर्म र संस्कृतिको महत्वलाई जनताको बीचमा फैलाउने कार्यमा योगदान गर्नेछन्। राष्ट्रप्रेमी बस्यालका अनुसार यो महायज्ञ केवल धार्मिक आस्था र भक्ति सँग जोडिएको कार्यक्रम मात्र होइन, यसले हाम्रो समाज र संस्कृतिको संरक्षण र प्रवर्धनमा पनि ठूलो भूमिका खेल्ने छ।
महायज्ञको आयोजना गरिएको स्थानमा सामुदायिक सहभागिता र स्थानीय उत्साहजनक प्रतिक्रियाको महत्वलाई जोड दिँदै, आयोजकले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन तयारी गर्दैछन्। स्थानीय समुदायको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ सफल र प्रभावकारी बनाउने विश्वास आयोजक समितिका सदस्यहरूको छ।
महायज्ञको आयोजनाले धार्मिक, सांस्कृतिक र सामाजिक विकासमा योगदान पुर्याउने आशा गरिएको छ। यसले स्थानीय समाजमा सकारात्मक परिवर्तन ल्याउने, सांस्कृतिक धरोहरको संरक्षणमा टेवा पुर्याउने र समग्रमा सामुदायिक विकासको गति तीव्र बनाउने विश्वास व्यक्त गरिएको छ।













