लुम्बिनी प्रदेशमा प्रदेश प्रहरी कार्यालयले दसैँ तिहार चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर कार्यान्वयनमा ल्याएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश अन्तरगतका १२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूलाई पत्राचार सहित निर्देशन दिइएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले बताउनुभयो ।
उहाँले प्रदेश मातहत रहेका करिब ८ हजार १ सय ७७ जना प्रहरी फिल्डमा खटाइएको बताउनुभयो । प्रदेशको सुरक्षा व्यवस्था चुस्त दुरुस्त पार्नका निमित्त सुरक्षामा असर पुर्याउने कारणहरू पहिचान गरेर, म्यानेजर र कन्ट्रोल गर्ने गरी संयन्त्र बनाइएको बताउँदै कहीँ कतै असुरक्षाका घटना भए भने तत्काल पुलिस पुग्ने गरी आवश्यक सुधार, कन्ट्रोल र मेन्टेन गर्ने योजना सुनाउनुभयो ।
चाडपर्वको समयमा कुनै पनि आपराधिक गतिविधि हुन नदिका लागि प्रदेशभर ड्रेस र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । शान्ति सुरक्षाका लागि प्रभावकारी रूपमा कार्यतालिका बनाइएको डिआइजी जोशीले बताउनुभयो । उहाँले प्रदेशमा चल्ने सार्वजनिक यातायातमा पनि सादा पोसाकमा प्रहरी खटाइने जानकारी दिनुभयो ।
उहाँका अनुसार यात्रुहरूलाई र सीमावर्ती क्षेत्रमा नागरिकहरूको सहजताका लागि प्रदेशका विभिन्न जिल्लामा ३५ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
धेरैजसो यात्रु सहायता कक्ष नागरिकहरूको भिडभाड हुने बसपार्क र सिमानाकामा क्षेत्रमा राखिएको छ । प्रदेशभरीका यात्रु सहायता कक्षमा १ सय ७ जना प्रहरीहरू खटिएका छन् । डिआइजी जोशीले प्रहरी जनशक्तिलाई यहाँको आवश्यकताअनुसार परिचालन गर्ने बताउँदै जिल्लाका सदरमुकाम, वित्तीय सङ्घसंस्था धेरै जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो ।
बजारमा गस्ती पेट्रोलिङ, इन्फरमेसन कलेक्सन, वित्तीय सङ्घसंस्थालाई सुरक्षा, सदरमुकाममा विभिन्न माग राखेर हुने आन्दोलन, कोणसभा, डेलिगेसन र आमसभालाई ध्यानमा राख्दै अहिले प्रदेशको सुरक्षा व्यवस्था मिलाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै भिआइपी मुभमेन्टलाइ विशेष ख्याल गरिएको र चाडपर्वमा हुने घटनालाई मध्यनजर गर्दै यात्रु मैत्री अभियान चलाएको डिआइजी जोशीको भनाई छ ।
भाडाका सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पर्ने दुःख, समस्या र गाडीमा भएको आरक्षण सिट उचित रूपमा पालना नभएको र भाडामा ठगिने यी कुराहरू भएका छन् या छैनन् भनेर यात्रुमैत्री अभियानका क्रममा प्रदेश प्रहरी कार्यालयबाट चाडपर्व लक्षित अनुगमन हुने बताउनुभयो ।
चाडपर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयद्वारा तयार पारिएको एकीकृत चाडपर्व सुरक्षा कार्य योजना अनुसार मोबाइल गस्ती, क्यूआरटी र पैदल गस्तीहरू समेत गरिने छ । त्यसका लागि २ सय बढी स्थान तोकिएको छ । जोखिम सम्भावित क्षेत्रहरूमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ भने अपराधका सम्भावित स्थानमा सर्च गर्ने गरी तयारी थालिएको छ ।
डिआइजी जोशीका अनुसार प्रदेशभर डेढ सय बढी क्यूआरटी परिचालन गरिएको छ भने केही थप चेक प्वाइन्ट राखिएको छ ।
जसले सडक सुरक्षालाई थप प्रभावकारिता बनाउने अपेक्षा लिइएको छ । आकस्मिक हुने घटनाहरूको लागि थप जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
यसअघि भइरहेको ट्राफिक व्यवस्थापनलाई थप सुदृढ पार्न प्रहरी र ट्राफिक मिलेर प्रदेशका सम्भावित दुर्घटना स्थलहरू नजिकै संयुक्त चेकिङको व्यवस्थापन गरिएको छ भने सरोकार बालासँग मिलेर बजार अनुगमनलाई तीव्र पारिएको छ । यस्तै कतिपय अवस्था सशस्त्र प्रहरी सँग पनि परिस्थिति अनुसार सहकार्य गर्ने प्रहरीको तयारी छ ।
लामो दुरीका सवारी साधनहरूमा दुई वटा चालकको व्यवस्था गर्न निर्देशन दिइएको र त्यसको सुपरिवेक्षण गर्न प्रदेशबाट प्रहरी टोली खटाइने छ । सवारी साधनलाई नियमन गर्नका लागि विशेष चेकिङको पनि योजना पनि प्रदेश प्रहरीले ल्याएको छ ।













