विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा आज लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गरेको लुम्बिनी विकास कोषले जनाएको छ।
पर्यटकलाई स्वागत गर्दै उपाध्यक्ष डा.लामाले लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउँदै भ्रमणका लागि आह्वान गर्नुभयो।
उहाँले विश्व पर्यटन दिवसको अवसर विश्वले बुद्व जन्म स्थल लुम्बिनीलाई बौद्विष्टहरूको भ्रमण केन्द्रको सुरुवात बनाउन आग्रह गर्नुभयो । लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले संयुक्त रूपमा पर्यटकलाई स्वागत गरेर दिवस मनाएको हो ।
उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा.हरिध्वज राई लगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गर्नुभएको थियो ।
सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो ।













