पाल्पा– पाल्पा जिल्लाका कृषकहरुले लम्फीस्कीनबाट गाईभैसी मरेपछि बिमा बापतको रकम नपाएको भन्दै गुनासो गरेका छन् । लम्फीस्कीनलाई सरकारले महामारीको घोषणा गरेको भएता पनि बिमा कम्पनीहरुले किसानलाई बिमा बापतको रकम नदिएको उनीहरुको भनाई छ ।
सयौ पटक विमा कम्पनीमा धाउँदा समेत कुनै सुनुवाई नभएको बरु केन्द्रमा जान भन्दै बिमा कम्पनीका जिल्ला शाखाहरुले दबाब दिएको कृषक टिकाराम रेश्मीले बताउनुभयो । चिनारी दुग्घ सहकारी संस्थाका अध्यक्ष समेत रहेका रेश्मीले आफ्ना सदस्यहरुको १८ बढी गाईभैसी लम्फीस्कीनबाट मरेपनि बिमा बापतबाट पाउनुपर्ने रकम अहिले सम्म नपाएको जानकारी दिनुभयो । जिल्लामा शाखा रहेका सिद्धार्थ ईन्सुरेन्स, सगरमाथा इन्सुरेन्स, सिखर इन्सुरेन्स लगाएतका इन्सुरेन्समा बिमा गरेका कृषकहरुले विमा बापतको रकम नपाएको रामपुरका किसान विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
लम्फीस्कीनबाट पशुचौपाय मरेका कृषकलाई संघिय सरकारले प्रति चौपाय २० हजारका दरले आर्थिक सहयोग गर्ने कुरा संचार माध्ययमा सुनेपनि कुनै सहयोग प्राप्त नभएको कृषक रुकबिर रेश्मीले जानकारी दिनुभयो । आफूहरुले एक लाख बढी खर्चेर उन्नत जातको गाई खरिद गरेको तर सरकारले जम्मा २० हजारका दरले सहयोग गर्ने कुरा सुनेको रेश्मीको गुनासो छ । बिमा गरेको रकम प्राप्त भएबरु आफुहरुलाई नयाँ गाई भैसी खरिद गर्न सहयोग पुग्ने कृषकहरुको भनाई छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गा खनालले महामारी घोषणाको नाउँमा बिमा गरेका कृषकलाई कम्पनीहरुले राहत रोक्न नमिल्ने बताउनुभयो । सिद्धार्थ इन्सुरेन्स पाल्पाका शाखा प्रमुख तारा खनालले आफ्नो कम्पनीको जिल्ला शाखाबाट बिमा गरेका तर लम्फीस्कीनबाट मरेका १६ बढी गाईभैसीको राहत रकम रोकिएको जानकारी दिनुभयो । केन्द्रको निर्देशन अनुसार त्यसो गरीएको उहाको भनाई छ ।













