पाल्पा
रामपुर नगरपालिकाले महिलालाई लक्षित गरी आर्थिक रूपमा आत्मनिर्भर बनाउन नगरपालिकाले सीप विकासमा जोड दिएको जनाएको छ।
केहि समय अगाडि नगरपालिका भित्रका ४७ महिलालाई हातेझोला, टोपी, पर्सलगायत सामग्री तयार पार्ने सीप सिकाएको थियो । गाउँघरमा खेर जाने वस्तुको सदुपयोग गर्दै विभिन्न सामग्री तयार पार्ने सीप पाएपछि यहाका महिला उत्साहित भएका छन् ।
थाकलको पात र मकैका खोस्टाबाट हस्तकलाका सामग्री हातेझोला, टोपी, पर्स,टोकरी,गमला लगायतका विभिन्न सामग्री तयार पार्ने सीप प्रदान गरेको नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बताउनुभयो। महिलालाई सक्षम बनाउँदै उनीहरूको आयआर्जनमा वृद्धि गर्न विभिन्न सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो।स्थानीय वस्तुको उपयोग गरेर आकर्षक सामग्री तयार पारी राम्रो आयआर्जन गर्न सकिने भएकाले १ महिने तालिम दिएको उहाको भनाई छ ।
रामपुर नगरपालिका वडा न ४ दर्छाका शान्ती रानाले पालिकाले दिएको १ महिने तालिम पश्चात थाकलको पात र मकैको पोस्करबाट हातेझोला, टोपी, पर्स बनाउन सिक्नुभयो। उहाले अहिले २ दिनमा १ वटा हातेझोला, ३ दिनमा एकवटा टोपी तयार गर्नुहुन्छ।आफ्नै घरमा र स्थानिय स्तरमा हुने कच्चापर्दाथ प्रयोग गर्ने हुदा लगानी धेरै नलागेपनि धेरै मेहनत गनुपर्ने बताउनुभयो।
रामपुर ४ कै लोकमाया ठाडाले पनि हस्तकलाका सामग्री दैनिक बनाउनुहुन्छ।उहाले सिप सिकेर उत्पादित सामग्री बिक्रि गरेर आएको आम्दानीले आफ्नो खर्च सगै छोराछोरीलाइ पढाउन,घरखर्च चलाउन टेवा पुगेको बताउनुभयो। उहाले भन्नुभयो“सीप भयो भने जुन ठाउँमा रहेर पनि आयआर्जन गर्न सकिन्छ, आफू खाली बस्नु पर्दैन, बिक्रीका लागि बजार विस्तार भइरहेको छ,स्थानीय स्तरमा पाइने कच्चापदार्थबाट विभिन्न सामग्री तयार पार्न सकिने हुँदा गाउँघर, वनमा पाइने विभिन्न वस्तुको उपयोग गरेर राम्रो आम्दानीको स्रोत बनाउन सकेकी छु ।”अझै उहाले केहि सामग्री मात्र बनाउन सिकेको बताउदै आगामी समयमा एडभान्स तालिमको व्यवस्था गरीदिए राम्रो आम्दानी गर्न सकिने बताउनुभयो।
त्यस्तै रामपुर ५ बेझाडकी दुर्गा श्रेष्ठले पनि नगरपालिकाले दिएको तालिम लिनुभयो।उहाले अहिले घरमा हस्तकलाका सामग्री बनाइराख्नु हुन्छ। श्रेष्ठ,राना,ठाडा लगायतले बनाएका सामग्री नगरपालिकाले संचालन गरेको उपप्रमुख कोशेली घर मार्फत खरीद गरी बजारीकरण गर्ने व्यवस्था मिलाएको छ।उत्पादित सामान पालिकाले खरीद गरेपनि लगानी र मेहनत अनुसारको उचित मुल्य नपाएको गुनासो उनिहरुको छ। पालिकाले स्वदेशी उत्पादन र वातावरणमैत्री उत्पादनमा बढावा दिन आवश्यक रहेको उनिहरु बताउछन। उनिहरुले उत्पादन गरेका सामग्री बाहिर आफै बेच्दा हातेझोला १ हजार रुपैया,छत्तरे टोपि ८ सय रुपैयामा बिक्री गर्छन तर नगरपालिकाले भने यो मुल्यको आधा रकममा पनि खरीद नगर्दिदा मर्कामा परेको गुनासो गरेका छन।













