
बजारमा प्लाष्टिक भाँडाको प्रयोग बढेसँगै माटोको भाँडा प्रयोगमा कमी आएको छ ।
जसले गर्दा माटोको भाँडा बनाएर जीविका चलाउने कुमाल समुदायका नागरिकलाई पेशा जोगाउन र दैनिक गुजारा चलाउन समस्या पर्न थालेको छ । अहिले पाल्पाको बगनासकाली गाउँपालिका १ र २ का करिब ५० घरधुरीमा रहेका कुमाल समुदायले वैकल्पिक पेशा रोज्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।
परम्परादेखि नै माटोको भाँडा बनाउदै आएका यहाँका कुमाल समुदाय समय अनुसार उत्पादन भएको भाँडा प्रयोगमा कमी आउँदा परम्परागत पेशाबाट विस्थापित हुनुपर्ने स्थितिमा पुगेको बताएका हुन । आफूले उत्पादन गरेको भाँडा विक्री हुन छाडेकोले पेशा छाड्नु परेको स्थानीयवासी कान्छि कुमालले बताउनुभयो । उहाँका अनुसार प्लाष्टिकका भाँडाले माटोको भाँडाको बजार विस्थापित गराइदिएपछि पेशा छाडेर ज्यालादारी काममा हिंड्नु पर्ने बाध्यता सिर्जना भएको गुनासो गर्नुभयो । अहिले माटोको भाँडाले प्लाष्टिकका भाँडासँग प्रतिष्पर्धा गर्न गाह्रो रहेको उहाँको भनाइ छ ।
माटोबाट बनेका हाँडी, मटिया, खुत्रुके, घैँटालगायतका सामग्री उत्पादन गरिन्छ । तर यी सामग्री बजारमा सस्तो मूल्यमा प्लाष्टिक वा प्रविधिको प्रयोगले सस्तोमा पाउन सकिने भएकोले आफूहरुको उत्पादन गरेको माटोको भाँडा विक्री हुन छाडेको स्थानीयवासी ओम बहादुर कुमाले बताउनुभयो । उहाँका अनुसार भाँडा बनाउन आवश्यक कालो माटोको पनि पाउन मुस्किल भएको छ । कुमाल समुदायले स्थानीय सरकारबाट परम्परागत पेशा जोगाउन र व्यवसायिकतामा सहयोग पुग्ने कार्यक्रम ल्याउन सके परम्परागत पेशा जोगाउन सकिने अपेक्षा गरेका छन् ।
गाउँपालिका भित्रका कुमाल समुदायको पेशा जोगाउन समय अनुसार प्रविधिमैत्री बनाउन माग भै आएमा आधुनिक प्रविधी सहयोग गरी व्यवसायलाई अगाडि बढाउन सहयोग गर्ने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । उहाँका अनुसार कुमाल समुदायको पेशाको सुरक्षा वा आधुनिकीकरणको लागि गाउँपालिका गम्भीर रहेको बताउँदै यसवर्ष विभिन्न योजना सञ्चालनको योजना बनाएको जानकारी दिनुभयो ।
