चक्रशिला आज्ञा गर्नुहुन्छ, हे अथक ! तिमी एकचित्त भई सुन ! श्री स्कन्दपुराणको हिमवत्खण्ड बहत्तरौँ अध्यायमा नेपालबारे
यसरी लेखिएको छ ।
“सत्य सत्यवती यत्र त्रेतायां तु तपोवनम्
द्वापरे मुक्तिसोपानं कलौ नेपालिका पुरी”
यसबाट यो स्पष्ट हुन आउँछ कि, नेपालको नाम सत्य युगमा सत्यवती, त्रेता युगमा तपोवन, द्वापर युगमा मुक्तिसोपान र कलियुगमा नेपाल रह्यो । सत्ययुगीन नेपाल ।।।सत्यवती’मा सूर्यवंशीहरूले राज्य गरे । मनुले सबैभन्दा पहिले यहीँ राज्य गरी सृष्टिको शुभारम्भ गरे । त्रेतायुगमा नेपालको नाम तपोवन हुन गयो । यहाँ धेरै ठूलाठूला ऋषिमुनिहरूले तपस्या गरे । यो पवित्र तपोभूमिमा तपस्या गरी बसेका कण्व ऋषिको आश्रममा
महाराज दुष्यन्तले शकुन्तलालाई भेटेपछि यही ठाउँमा विवाह गरे । तपोवनको रक्षक म हुँ’ भनी महाराज दुष्यन्तले 'तपोवन’ नेपालमा राज्य गरी सुख सयलले रहे ।
महाराज दुष्यन्तपछि प्रतापी राजा भरतले यस भूमिलाई आफ्नो राजधानी बनाइ राज्य गरे । यही बेलादेखि नै राजा भरतले यस क्षेत्रलाई महाभारत भनी नामाकरण गरे । यसको सप्रमाण महाभारतको ऋब्खला पर्वत नेपालमा अद्यावधि रहेको छ । आफूहरूलाई मुक्ति प्राप्त हुने स्थान यही तपोवन मात्र देखेकोले विश्वामित्र, अगस्त्य, वाल्मीकि, याज्ञवल्क्य आदि ठूला ठूला ऋषिमुनिहरूले यहाँ आई तपस्या गरी आफ्नो परमार्थ साधनको साथै समस्त मानवजातिको कल्याण गर्ने कार्यमा अहोरात्र समर्पित भए । यसरी यो तपोवनको नाम 'मुक्तिसोपान’ हुन गयो । सत्ययुगमा मनुका साथै पर्वतराज हिमालयकी पुत्री पार्वतीको समयदेखि नै नेपाल अस्तित्वमा रहँदै आएको हो । त्रेता युगमा महाराज दुष्यन्त, भरत, राजा जनक, महारानी सीताको समयदेखि नै नेपालमा सभ्यताको विकास झन् झन् बढ्न गई, द्वापर युगमा श्रीकृष्णको आगमन सहित ऋषिमुनिहरूले मुक्ति प्राप्त गर्ने मुक्ति सोपान भई कलि युगमा 'नेपाल’ रह्यो । नेपाल नाम रहनुमा धेरै तर्कहरू रहेका छन् । केही तर्कहरू यसप्रकार रहेका छन् ।
सर्वप्रथम पौराणिक कथन अनुसार बागमती र बिष्णुमतीको दोभानमा 'ने’ नाम गरेका मुनिले तपस्या गरे । यिनै 'ने’मुनिद्वारा पालित क्षेत्र भएको हुनाले 'नेपाल’ रहन गयो । 'ने’मुनिले पालनको जिम्मा लिएको देश नेपाल ब्रह्मा बिष्णु महेश्वरसहित देव–देवीको प्रियभूमि हो भनी वाराह पुराण र स्कन्द पुराणमा समेत उल्लेख गरिएको छ । यसरी नै गण्डकी माहात्म्यमा 'नेप’नाम गरेका राजाले शासन गरेकाले 'नेपाल’ रहेको उल्लेख छ ।
नेवार र भोटे समुदायका मानिसहरूले नेपाललाई 'नेपा’ भन्दछन् । 'ने’ को अर्थ मध्य र 'पा’ को अर्थ देश हो । 'नेपा’को अर्थ 'मध्यदेश’ हुनगई नेपाल बन्न गएको हो । फेरि तिब्बतीहरूले आफ्नो भाषामा घरलाई 'ने’ र ऊनलाई 'पाल’ भन्दछन् । यसरी प्रशस्त ऊन पाइने भएकाले 'ऊनको घर’ अर्थात 'नेपाल’ भनियो । ने(घर) पाल(ऊन) भई नेपाल भएको र नेपालमा बस्नेलाई नेपाली भनिएकोले यहीँका निवासी नेपाली बस्ने देश भएकोले नेपाल देश भएको हो । अर्को तर्क अनुसार देशमा 'पाल’ अर्थात् 'ऊन’ धेरै भएकोले 'पालदेश’भनियो । पालदेशमा रहेका पवित्र गुफा र देवताहरूले वास गर्ने पवित्र स्थानलाई 'ने’ भनिने चलनले गर्दा देवताहरूको निवास स्थल 'नेपाल देश’ भनियो ।
यसरी नेपाल देश अर्थात् 'नेपाल’शब्दको उत्पत्ति भएको हो । नेपाल बुझ्नको लागि सर्वप्रथम नेपाल उपत्यकाको उत्पत्ति र यसको उन्नतिबारे बुझ्नुपर्दछ । नेपाल उपत्यकाको उत्पत्ति नाग दह नामक नाग सरोवरबाट भएको हो । यो सरोवरको चारैतिरको भूभाग पहाडै पहाडले घेरिएको र जताततै जल नै जलले भरिएको थियो । सत्ययुगमा विपश्वी नाम गरेका बुद्ध आएर नागदहको उत्तरपश्चिमको पर्वतमा बसी तपस्या गरे । अहिले यो पर्वतलाई नागार्जुन भनिन्छ । बुद्ध विपश्वीले एक चैत्रशुक्ल पूर्णिमाको दिन सरोवरको बीचमा एक कमलको बीज रोपे । त्यसको ठीक ६ महिनापछि आश्विन शुक्ल पूर्णिमाका दिन सरोवरमा एक अपूर्व अलौकिक सुन्दर कमलको फूल फुल्न गयो र कमलका माझमा भगवान स्वयम्भूको दिव्य ज्योतिर्मयी मूर्ति प्रकट भयो । त्यसको केही महिनापछि मेष संक्रान्तिका दिन अरूणपुरीका शिखिबुद्ध आएर भगवान स्वयम्भूको दिव्य ज्योतिमा अन्तरनिहित भए ।
त्रेता युगमा अनुपम भन्ने ठाउँबाट विश्वभू नामका बुद्ध आफ्ना शिष्यहरूका साथ सरोवरमा आएर एक लाख फूलसहित नानाथरिले स्वयम्भूको पूजा गरे । यहाँ बस्ती बसाल्न अति उत्तम छ भनी आफ्ना प्रिय शिष्यहरूलाई नागदहको जलनिकाल्ने उपाय बताइदिई विश्वभू बुद्ध अन्र्तध्यान भए । महाचीनबाट मञ्जुश्री बोधिसत्व स्वयम्भू ज्योतिको दर्शन गर्न भनी आए । मञ्जुश्रीले तीन दिन तीन रात सम्म मण्डागीरिमामा ध्यान मग्न भई स्वयम्भूको ज्योर्तिस्वरूपको दर्शन गरे । कालान्तरमा मण्डगीरि नगरकोट नामले प्रसिद्ध भयो ।
स्वयम्भूको दिव्य ज्योर्तिस्वरूपको दर्शनपश्चात् मञ्जुश्रीले नागदहको जल निकाल्ने विचार गरी केही क्षण दुवै हात जोडी आँखा चिम्ली आफ्ना दुई शक्ति 'वरदा’ र 'मोक्षदा’लाई आमन्त्रण गरी फूलोच्चगीरि र ध्यानोच्चगीरिमा राखे । फूलोच्चगीरि भनेको फूलचोकी र ध्यानोच्चगीरी भनेको कटुवाल दहको पहाड हो । मञ्जुश्रीले आँखा खोली आफ्नो अद्भूत तरबार उठाए र यी दुई गीरि बीचको पहाड सजिलै काटिदिए । यस ठाउँलाई आजकल चक्रतीर्थ भनिन्छ । दक्षिणतर्फको बाटो खुला पाउना साथ नागदहका सारा जल वायुवेगका साथ बहन लागे । यस्तो अवस्थादेखि जलाशयभित्र रहेका सारा नाग नागिनहरू त्राहीमाम भए । उनीहरू रूँदै, कराउँदै, चिल्लाउँदै गुहार माग्न लागे । कोही मरे, कोही जिउँदै बहेर गए । कोही बडो सकसले तैरिएर किनारमा लागे । धेरै बहेर बाहिर जान लागेको देखी अनर्थ हुने सम्भावनालाई रोकी मञ्जुश्रीले कर्कोटक नागसहितका परिवारलाई टौदह नामको जलाशयमा बास दिई बडो आग्रहका साथ सम्मान गरी पूज्य बनाएर राखे ।
मञ्जुश्रीले कार्तिक शुक्ल पूर्णिमाको दिन ज्योर्तिमय स्वयम्भूको र पौष कृष्णनवमीको दिन शक्तिरूपिणी गुह्येश्वरीको स्थापना गरी 'मञ्जुपतन’ नामक एक बस्ती बसाले । धर्माकार नाम गरेका एक क्षत्रीयलाई राजाको रूपमा प्रतिस्थापित गरियो । बोधिसत्वका स्त्रीहरू शक्ति स्वरूप हुन् । हिन्दुहरूले पनि 'वरदा’ र 'मोक्षदा’लाई 'माता लक्ष्मी’ र 'माता सरस्वती’ मानेका छन् । मञ्जुश्रीको भेषमा भगवान श्रीबिष्णु आई लक्ष्मी र सरस्वतीको शक्तिसहित आफ्नो सुदर्शन चक्रलाई तरबारको धारमा राखी पहाड काटेर नागदहको जल निकालेको तथ्यको कारण त्यस स्थानलाई चक्रतीर्थ भनिएको सिद्ध हुन जान्छ ।
पशुपतिनाथको प्राचीन मन्दिर भूकम्पले भत्किएर ज्योति पुरिएको थियो । सोही समयमा असुर जातिको दानासुरले नेपाल उपत्यकालाई फेरि जलमग्न गरायो । द्वापर युगमा श्रीकृष्ण गोपालहरू सहित नेपाल आउँदा दानासुरको बध गरी सुदर्शन चक्र चलाई चोभारको डाँडाबाट फेरि जल बाहिर निकाली गोपालहरूको बस्ती बसालेपछि गोपाल अर्थात् ग्वालाहरू गाई चराएर यहीँ बसे ।
यही क्रममा एकजना गोपालको बडो मायालु र दुधालु कैलीगाई थिईन् । कैलीगाईले दिनहुँ कसैले नदेख्ने गरी पशुपतिको ज्योति पुरिएको ठाउँमा गई सारा दूध चढाउँथिन् । यता दुधालु गाईले दूध नदिएको हुँदा गोपहरूलाई शब्का लाग्यो र गाईको चियोचर्चा गरी हेर्दा गाईले एकान्त ठाउँमा गई थुनबाट दूधका धारा बहाएको देखे । यस्तो के आश्चर्य हो भनी गोपहरूका सरदारले सो ठाउँमा गई खनेर हेर्दा अद्भूत आश्चर्य पशुपतिको ज्योति प्रकट भई ज्योतिको प्रचण्ड तेजको प्रभावले गोपहरूका सरदार भष्म भए ।
यो खबर हावासरी चारैदिशा फैलियो । बागमती र बिष्णुमतीको दोभानमा तपस्या गरी बसेका 'ने’ मुनि आएर पशुपतिको ज्योति
मूर्तिको दर्शन गरी विधिपूर्वक पूजा गरी पशुपतिनाथको प्रतिष्ठा गरे । सबैले जयजयकार गर्दै पूजा आराधना गरे । पशुपतिनाथको मन्दिर बनाए । पशुपतिका ज्योतिले भष्म भएका गोपाल सरदारका पुत्र भुक्तमानलाई नेपालका राजा बनाए । 'ने’मुनिद्वारा पालित देश हुनाले नेपाल देश रहन गएको भनी शुरूमै कहिएको छ । भुक्तमानपछि सबै मिलाएर जम्मा पाँच सय एक्काइस वर्षसम्म गोपालवंशी राजाहरूले नेपालमा शासन गरे ।
सुन्यौ हे अथक ! जसले नेपाल देश प्रार्दुभावको यो कथा सुन्ला वा सुनाउला उसलाई उच्चस्तरीय राष्ट्रिय सम्मान सहित स्थान मिल्नेछ र देशप्रति कर्तव्य पूरा गर्ने अवसर प्राप्त हुनेछ ।
इतिश्री सत्यकथायं नेपालदेशे पाल्पा खण्डे सेन माहात्म्य चक्रशिला अथक सम्वादे अस्तित्व आख्यानाम् नेपालदेश उत्पत्ति वर्णनम् नाम प्रथमोऽध्यायः।।१।।
अस्तित्व
सेनाकालीन ऐतिहासिक आख्यान
–पुष्कर अथक रेग्मी