सुमित्रा कंडेल,पाल्पा
पुरानो इतिहास बोकेको पाल्पाको बगनासे साँचो, आधुनिकभन्दा केही ठूलो आकारको हुन्छ । घरको मुल ढोका, बाकस, दराज लगायतमा लगाइने यो साँचो, बजारमा पाइने अन्य साँचोको तुलनामा बलियो पनि मानिन्छ । तर पछिल्लो समय यो साँचोको प्रयोग घट्दै गएको छ । परम्परागत प्रविधि र सिपमा आधारित रहेर बनाईएका बगनास साँचो पाल्पाको पहिचान समेत भएको भन्दै स्थानीय सरकार यसको संरक्षणमा जुटेको छ ।
पाल्पाको बगनासकाली गाउँपालिका ६ यम्घाका खुम बहादुर विश्वकर्माले बगनासे साँचो बनाउन थाल्नु भएको १२ वर्ष भयो । ७ वर्ष अघिसम्म उलेख्य मात्रामा विक्रि हुने यो साँचो केहि वर्षयता भने खासै विक्रि भएको छैन ।
बगनासकाली गाउपालिका २ पोखराथोकका दुधराज विश्वकर्मा पनि बगनासे साँचो बनाउनुहुन्छ । बगनासे साँचो बलियो र सुरक्षित रहेकोले अन्यको तुलनामा यो अलि महङ्गो पर्ने उहाँ बताउनुहन्छ । एउँटा साँचोको उत्पादन लागत ८५० रुपैया पर्ने भएकाले बजारसम्म पुर्याउदा प्रतिगोटा १ हजार रुपैयाँ पर्छ । तर पालिकाले आधुनिक प्रविधि सहयोग गरे उत्पादन लागत घट्ने र बजारमुल्य सस्तो हुने उहाँको भनाइ छ ।
गत आर्थिक वर्षमा पालिकाको २ लाख रुपैयाँ आर्थिक सहयोगमा २ सयभन्दा बढी साँचो बनाईएको थियो । दलित समुदायले निर्माण गरेको बगनासे साँचो हराउँदै जान थालेपछि यसको संरक्षण गर्न योजना माग गरी कार्यान्वयन गरिएको दलित समन्वय समिति बगनासकालीका संयोजक तेजप्रसाद रसाइलीले बताउनुभयो।
आधुनिकतासँगै लोप हुन थालेको साचो संरक्षण र सिप विकासका लागि पछिल्लो समय पालिकाले योजना नै बनाएर परम्परागत साधनको संरक्षण तथा सदुपयोग गर्ने अभियान सुरु गरेको छ। गाउँपालिकाको पहिचानको रूपमा रहेको बगनासे साँचो उत्पादन गर्न अरु युवालाई पनि प्रोत्साहित गर्ने,सुरक्षित साँचोको रूपमा यसको विश्वसनीयता कायम गर्दै पालिकाभित्र रहेका विभिन्न कार्यालय र घरमा प्रयोग गर्ने वातावरण सिर्जना गर्न लागि परेको बगनासकाली गाउपालिकाका अध्यक्ष सरस्वती चिदिले बताउनुभयो।